काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भुटानी शरणार्थी र गिरीबन्धु टी स्टेटका फाइल कानुनअनुसार अनुसन्धान हुनुपर्ने बताएका छन् ।
मानवअधिकार तथा शान्ति समाज जिल्ला शाखा काठमाडौंले शनिबार जोरपाटीमा आयोजना गरेको २७औं साधारणसभामा उनले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच भएको सातबुँदे समझदारी अनियमिताको अन्त्यका निम्ति भएको बताए ।
इमान्दारीपूर्वक उक्त सम्झौता कार्यान्वयन गरेर जनतामा सुशासनको अनुभूति गराउनुपर्ने उनको भनाइ छ । शर्माले अनियमितामा संलग्न जो सुकैलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए ।
“जनतामा आशा जगाउन आर्थिक अनियमितताका विषयमा कानुनअनुसार काम गर्न सम्बन्धित निकायलाई स्वतन्त्र छोडिदिनुपर्छ, सुशासन सबैको चासोको विषय भएकाले सबै फाइल विधिपूर्वक खुल्नुपर्छ, यसले कोही व्यक्तिलाई गाह्रो पर्ला, कुनै पनि पार्टीलाई गाह्रो पर्दैन, कुनै पनि दलले भ्रष्टाचारका घटनामा संलग्नलाई बचाउन लाग्नुहुँदैन”–महामन्त्री शर्माले भने ।
Facebook Comment
Comment