धुलिखेल । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सञ्चारमाध्यमले राष्ट्रिय सभामा हुने गतिविधिलाई कति प्राथमिकता दिएको छ भन्ने समीक्षा गर्नुपर्ने बताएका छन् ।
उनले राष्ट्रिय सभाको गतिविधि पत्रकारितामा कम प्राथमिकता परेकोमा गुनासो पोखे ।
शुक्रबार धुलिखेलमा आयोजना गरिएको सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आम नागरिक राष्ट्रिय सभाको गतिविधिमा सुसूचीत हुने अवसरबाट वञ्चित हुने भएको बताए ।
उनले सभाका गतिविधि जनतासमक्ष लैजान र नागरिकको सुसूचीत हुने अधिकार सुनिश्चित गर्नमा जोड दिएका छन् । ‘राष्ट्रिय सभाप्रति मिडियाको चाँसो वस्तुनिष्ठ भएर सबैले समीक्षा गर्नुपर्ने देख्छु,’ उनले भने ।
अध्यक्ष दाहालले राष्ट्रिय सभामा हालसम्म ६१ विधेयक दर्ता भएको त्यसमध्ये ३१ विधेयक प्रमाणिकरण भएको समेत जानकारी दिएका छन् ।
दाहालका अनुसार १२ वटा विधेयक फिर्ता र २०७९ सालमा प्रतिनिधि सभाको अवधि समाप्त हुँदा राष्ट्रिय सभामा दर्ता भएको पाँचवटा विधेयक निस्क्रिय भएका थिए ।
Facebook Comment
Comment