सौर्य दुर्घटनापछि बल्ल यतिको दुर्घटनाको कारण खोजी, संसदीय समितिले माग्यो जाँचपड्ताल प्रतिवेदन

नेपालभ्युज

सौर्य दुर्घटनापछि बल्ल यतिको दुर्घटनाको कारण खोजी, संसदीय समितिले माग्यो जाँचपड्ताल प्रतिवेदन

काठमाडौं । विमानको सम्पूर्ण मर्मत (सी चेक) गर्न पोखरा जान लागेको सौर्य एअरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना भएपछि संसदीय समितिले अघिल्लो दुर्घटनाको प्रतिवेदन मागेको छ ।

२०७९ माघ १ गते पोखरामा भएको यति एअरलायन्सको विमान दुर्घटना सम्बन्धमा गठित छानबिन समितिले पेश गरेको प्रतिवेदन एक साता भित्र उपलब्ध गराउन संसदीय समितिले निर्देशन दिएको हो ।

प्रतिनिधि सभा अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबार बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो ।

बैठकले नागरिक उड्डयन सम्बन्धमा नियमन र सेवा प्रदायक सम्बन्धी विधेयकको वर्तमान अवस्था समितिलाई तत्काल उपलब्ध गराउन, आईकाओको नेपाल सम्बन्धमा पछिल्लो समय प्रकाशित लेखा परीक्षण प्रतिवेदन एक साता भित्र समितिलाई उपलब्ध गराउन पनि निर्देशन दिएको समिति सचिव बबिता मिश्रले जानकारी दिइन् ।

समितिले नेपाल वायुसेवाले हाल कोरियामा उडान गर्न नपाइरहेको समस्यालाई कसरी समाधान गर्न सकिन्छ, त्यस सम्बन्धमा अपनाउनुपर्ने रणनीति समितिलाई तत्काल उपलब्ध गराउन निर्देशन दिएको छ ।

छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, मन्त्रालयका सचिव, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी थिए ।

यस्तै नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौला लगायतका पदाधिकारी सहभागी थिए । समितिले नवनियुक्त पर्यटन मन्त्री पाण्डेलाई स्वागत तथा बधाई सँगै सफल कार्यकालको शुभकामना पनि दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved