काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस)को केन्द्रीय कमिटी बैठकमा पदाधिकारी र केन्द्रीय सदस्य छान्न सकस परेको छ । पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिने बताइए पनि सकस छ ।
बैठकले कार्यविधि तथा मापदण्ड बनाउने प्रवक्ता जगन्नाथ खतिवडाले बताए । केन्द्रीय कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्ने तयारी छ ।
बैठकमा अध्यक्ष माधव नेपालले पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका छन् । उनले प्रदेश अध्यक्ष र इन्चार्जहरूले छलफल र परामर्श आफ्नो प्रदेशमा सहमतिको प्रयास गर्नुपर्नेमा पनि जोड दिए ।
केन्द्रीय सदस्यका लागि सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्यांकन गरी सन्तुलन मिलाएर मनोनयन गर्ने तयारी छ ।
पार्टीमा २०६ केन्द्रीय सदस्य पद रिक्त छन् । सबै जिल्लाको पहुँच केन्द्रीय नेतृत्वमा पुर्याउन तथा भौगोलिक सन्तुलन कायम गर्न प्रत्येक जिल्लाबाट कम्तीमा एकजना सदस्यको प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।
हालै भएको महाधिवेशनले अध्यक्षमा नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई दोहोर्याएको छ । भने ९३ सदस्यीय केन्द्रीय कमिटी छानेको थियो । सोही कमिटिको बैठक जारी रहेको हो ।
Facebook Comment
Comment