प्रदेश प्रमुख परियारको सचिवालयमा ९ जना घरभित्रकै, छोरा, बुहारी, नातिदेखि भाञ्जाले खान्छन् हाजिरै नगरी तलब

नेपालभ्युज

प्रदेश प्रमुख परियारको सचिवालयमा ९ जना घरभित्रकै, छोरा, बुहारी, नातिदेखि भाञ्जाले खान्छन् हाजिरै नगरी तलब

काठमाडौं । कर्णाली प्रदेश प्रमुख तिलक परियारले आफ्नो सचिवालयमा छोरा, बुहारी, नातिदेखि भान्जालाई राखेपछि विरोध भएको छ ।

सचिवालयमा १२ जनालाई नियुक्ति दिएकोमा ९ जना आफ्नै परिवारका सदस्य रहेको खुलेपछि आलोचना भएको हो ।

रोल्पा लिवाङमा विपन्न दलित परिवारमा जन्मेका प्रदेश प्रमुख परियार दम्पती नै माओवादी सशस्त्र द्न्दमा होमिएका र सङ्घर्ष गरेका थिए । तर, अहिले पदमा पुगेपछि उपलब्धिलाई दुरुपयोग गरेको भन्दै पार्टीभित्रै विरोध भएको छ ।

दोस्रो पटक ०७८ कार्तिकमा कर्णालीको प्रदेश प्रमुख नियुक्त भएका परियारले आफ्नो सचिवालयमा तीन छोरा, एक बुहारी, तीन नाति, एक भतिज र एक भान्जालाई नियुक्ति दिएका हुन् ।

यसरी उनी परिवारवादमा लिप्त भएको भन्दै माओवादी केन्द्र बाँकेभित्र व्यापक विरोध भएको छ । उनलाई प्रदेश प्रमुखबाट हटाउन भन्दै यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकाल दाहाल प्रचण्डकहाँ उजुरी परे पनि सत्ता समीकरण फेरिएकाले काम अघि बढ्न सकेको थिएन ।

आफन्तले बुझ्छन् काम नगरी तलब

प्रदेश प्रमुख तिलक परियार बाँकेको कोहलपुर नगरपालिका–१२, निबुवा निवासी हुन् । प्रमुख स्वकीय सचिवमा वीरेन्द्रनगर नगरपालिका–३ का दानसिंह सुनार छन् भने वीरेन्द्रनगर नगरपालिका–१०, का टेकेन्द्र विश्वकर्मा फोटोग्राफर अधिकृत छन् ।

पदमबहादुर विक स्याङ्जा निवासी छन् । बाँकी ९ जना बाँके र दाङका प्रदेश प्रमुख परियारकै परिवारका सदस्य हुन् ।

सहस्वकीय सचिव रहेका पदमबहादुर विक कालीगण्डकी–४, स्याङ्जाका हुन् । प्रदेश प्रमुखको व्यक्तिगत नियुक्तिबाट आएका उनी प्रायः काठमाडौँमै बस्छन् । उनीहरू तलब मात्र बुझ्छन् ।

प्रदेश प्रमुख परियारका तीन छोरामध्ये जेठो छोरा दीपककुमार परियार कम्प्युटर सहायक, माइला छोरा जंगवीर परियार सवारी चालकका रूपमा नियुक्त भएका हुन् ।

कान्छो छोरा उत्तम परियारले चौथो श्रेणीको स्वकीय अधिकृतको पारिश्रमिक बुझ्छन् । उत्तमकी श्रीमती उपस्वकीय सचिव सुनिता छिनाल सचिवालयमा तेस्रो श्रेणीमा छिन् ।

परियारका नाति कोहलपुर नगरपालिका–१२ कै पुनित रोहिला लेखा सहायक छन् । परियारकी जेठी छोरीका छोरा प्रकाश विक प्रशासन सहायक छन् ।

उनकी जेठी र माइली छोरीको विवाह निबुवा गाउँमै भएको छ । अहिले प्रकाश मात्रै हजुरबुवा प्रदेश प्रमुखसँग बस्छन् ।

यस्तै अर्का नाति, प्रदीप परियार (माइली छोरीका छोरा) कार्यालय सहयोगीका रूपमा छन् । बाँके राप्तीसोनारी–६, का विक्की परियार पनि सवारी चालक छन् । जो प्रदेश प्रमुख परियारकी बहिनीका छोरा अर्थात् भाञ्जा हुन् ।

तिलककै भाइको छोरा हरिबहादुर परियार पनि कार्यालय सहयोगी छन् । उनी राप्तीसोनारी–९ का हुन् ।

उनीहरू सबैले प्रदेश प्रमुखको कार्यालयले उपलब्ध गराएको पारिश्रमिक विवरण अनुसार सचिवालयमा रहेका १२ जनाको पारिश्रमिकमा मात्रै मासिक चार लाख ४५ हजार ४०९ रुपैयाँ सकिन्छ । उनीहरूले पाउने अन्य सेवा, सुविधा पनि छन् ।

तर, परियारका तीन छोरा र सहस्वकीय सचिव रहेका पदमबहादुर विक प्रायः कार्यालयमा हाजिर हुँदैनन् । उनीहरू बाहिरै बसेर अरू नै काम गर्छन् । तर, सरकारी तलबभत्ता खाइरहेका हुन्छन् ।

कम्युनिस्ट आन्दोलनमा रहँदा पटक पटक गरी ३ वर्ष ४ महिनाको जेल जीवन बिताएका परियार गणतन्त्रपछि निरन्तर लाभको पद पाइरहेका छन् । ०६३ सालमा उनी अन्तरिम व्यवस्थापिका संसद् सदस्य बनेका थिए ।

बाँके १ बाट तत्कालीन माओवादीतर्फका प्रत्यक्ष निर्वाचित संविधानसभा सदस्य समेत हुन् । ०७६ कत्तिक १८ मा साबिक प्रदेश २ को प्रमुखमा नियुक्त भए । फेरि २०७८ मा प्रदेश प्रमुख बनाइएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved