काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड तथा ट्रंक लाइन विवादमा काटिएका ६ उद्योगको लाइन जोड्ने प्रतिबद्धता जनाएका छन् । संसदमा विश्वासको लिने क्रममा उठेको प्रश्नको जवाफ दिँदै उनले लागेजति महशुुल मात्र असुल गर्ने बताए ।
नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री ओलीले नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई जंगबहादुरको शैलीमा निर्देशन दिएको भनेपछि ओलीले जवाफ दिएका हुन् ।
यसअघि प्रधानमन्त्री ओलीले दिएको निर्देशन घिसिङले अस्वीकार गरेका थिए ।
लाइन विवादबारे संसद बैठकमा ओलीले प्राधिकरणको बोर्ड बैठकले निर्णय नगरेको र प्राधिकरणका निर्देशक घिसिङको एकल निर्णयमा लाइन काटिएको दाबी गरे ।
ओलीले भने, ‘‘यो विवाद अहिलेको होइन ९ वर्ष भयो । उद्योगीले बालेको बिजुलीको पैसा तिर्नुपर्छ । तर, बिना प्रमाण बिल पठाएको छ । लाइन काटिएको छ । त्यो पनि प्राधिकरणका अरू पदाधिकारीलाई निर्णयको जानकारी नै छैन । यसैले समस्या समाधान गरौँ भनेर मैले निर्देशन दिएको छु । तर उहाँले (घिसिङले) मैले बिल पठाइसके, महालेखा परिक्षकको कार्यालयमा पनि नाफा भनेर पठाइसकेँ । अब मिल्दैन भन्नुभयो ।’’
प्रधानमन्त्री ओलीले शुक्रबार (हिजो) नै काटिएका लाइन जोड्न निर्देशन दिए पनि घिसिङले सञ्चालन समितिको बैठकबाट निर्णय गर्नुपर्ने जवाफ दिएका थिए । त्यसपछि प्रधानमन्त्री ओलीले शुक्रबार साँझ नै बैठक बसेर निर्णय गर्न भनेका थिए ।
प्रधानमन्त्री ओलीले ’कि तपाईँ निर्णय गर्नुहोस् नभए तपाईँबारे निर्णय हुन्छ’ भन्ने जवाफ दिएका थिए । आफ्नो निर्देशन पालना गर्न अटेर गरेका घिसिङसँग प्रधानमन्त्री ओली रुष्ट भएका छन् ।
Facebook Comment
Comment