काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा राना मगरलाई विवादमा तानेर सत्तारुढ दलहरुले पदीय हिसाब हिसाब मिलाउन खोजेको आरोप लगाएको छ ।
उपसभामुख मगरले अमेरिकी दूतावासलाई लेखेको पत्रलाई वहाना बनाएर पदबाट हटाइ आफ्नो मान्छेलाई ल्याउन खोजेको रास्वपाले जिकिर गरेको हो ।
रास्वपाले उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई पत्र लेखेको भए पनि आर्थिक लेनदेन नभएको दाबी गरेको छ ।
रास्वपाले भिसाको लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्ति नेपाल अध्यागमन विभागको रेकर्डमा देश बाहिर गएको नदेखिनुका साथै कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध नभएको बताएको छ ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै भनेका छन्, “संसद् सचिवाललगायत अन्य उच्च पदासिन व्यक्तिहरुलाई पहिले नै जानकारी रहेको भनिएको विषयलाई अहिले अनर्गल प्रचारमा ल्याइनुमा पक्कै पनि कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयास भइराखेको छ भन्ने सहजै अनुमान गर्न सकिन्छ । यस्ता गलत प्रहारबाट विचलित नभई रास्वपा सुशासन, सामाजिक न्याय र द्रूत आर्थिक विकासको मार्गमा नेपाललाई अगाडि बढाउने आफ्नो प्रतिवद्धतामा अडिग रहँदै समग्र शुभेच्छुक र पार्टी परिवारलाई काण्डै काण्डको चाङमाथि मध्यरातमा ठडिएको गठबन्धनका आगामी चालहरुप्रति सचेत रहन पनि आग्रह गर्दछौँ ।”
रास्वपाले रानामगरको उज्यालो छविकै कारण पहिले सांसद र पछि उपसभामुखको उम्मेदवारका रूपमा प्रस्तुत गरेको तर्क पनि गरेको छ ।

Facebook Comment
Comment