काठमाडौं । प्रस्तुत घटना कुन मितिको हो भन्नेबारे ठ्याक्कै भन्न नसकिए पनि घटित स्थानचाहिँ तोकेरै भन्न सकिन्छ, हालको सोलुखुम्बु जिल्लाको माप्यदुधकोशी गाउँपालिकाको राप्छा ।
घटनालाई भोगेकाहरू पाउन त मुस्किल छ तर, भोगेकाहरूलाई सुनेका केही पुर्खाहरू अझै भेटिन्छन् । उनीहरूको आकलन छ कि यो घटना करिब डेढ शताब्दीअघिको हुनुपर्दछ ।
त्यसताका त्यहाँ खालिङ (राईभित्रको एक भाषी समुदाय) मात्रै थिए, अरु समुदायका मानिसहरूको बसोबास थिएन । त्यसो हुँदा स्वाभाविक रूपमा उनीहरूले आफ्नोबाहेक अरु भाषा बोल्दैनथे, जान्दैनथे ।
कुनै एक साँझ तत्कालीन श्री ३ राणा भारदारहरूसहित नाङपाल नाका जाने क्रममा बास बस्न पुगे । त्यस क्रममा उनीहरूले गाउँका खालिङहरूलाई बटुलेर सामान्य मन्तव्य दिए । उनीहरूले आफ्नै भाषा र शैलीमा छाँटेको मन्तव्य आफ्नोबाहेक अर्को भाषा नबोल्ने खालिङहरूले बुझ्ने कुरै भएन ।
त्यसपछि उनीहरूले ‘मेषी माका’ अर्थात् ‘त्यही त’ भनेर भने । फेरि राणा र भारदारहरूले त्यो बुझ्ने कुरै भएन । यसपछि त्यसबाट आफ्नो मानमर्दन र अपमान भएको ठानेर राणाले त्यसबापत् दण्ड तिर्नुपर्ने नियम लादे । त्यसलाई ‘मेषी दण्ड’ भनियो, जुन दण्ड खालिङहरूले निकै लामो समयसम्म तिरे ।
शनिवार (आज) बाट काठमाडौंको मण्डला नाटकघरमा नियमित मञ्चन हुने नाटक ‘मेषी दण्ड’ उल्लिखित घटनाकै रङ्गमञ्चीय परिकल्पना र रूप हो । अलिखित यो घटनालाई लेखक गीलु रातोसले लेखेका हुन् भने निर्देशन र परिकल्पनाको पाटोबाट अनिल सुब्बाले सशक्त काम गरेका छन् । यसो भन्न सकिन्छ कि गीलु-अनिल रङ्गमञ्चीय सहकार्य अनुकरणीय छ ।
***
त्यसो त हिजो राज्यसत्ताले बोल्नेबाहेक फरक भाषा (मातृभाषा) बोल्ने समुदाय कुनै न कुनै रूपमा राज्यसत्ताबाट दमित हुनैपर्थ्यो । त्यो किरात-राईहरू हुँदै तामाङसम्मै पुग्यो ।
उनीहरूले राज्यसत्ताले बोल्ने भाषा (खस नेपाली) जान्दैनथे, त्यहीकारण उनीहरू विभिन्न नाममा राज्यसत्तामार्फत कजिनुपर्थ्यो । नाटक मेषी दण्डमा यसकैको रङ्गमञ्चीय वृत्तान्त भेटिन्छ । राणा र भारदारहरूले आफ्नै भाषा र शैलीमा छाँटेको मन्तव्य नबुझेर मेषी आफ्नै भाषा (खालिङ भाषा) मा ‘त्यही त’ भनेका खालिङहरूले त्यसकै कारण कसरी लामो समयसम्म दण्डित हुनुपर्यो भन्नेबारे नाटकले छर्लङ्गै पारेको छ ।
नाटकले दिने अर्को गजब सन्देश हो, समुदाय/समाजका अग्रज भनाउँदाहरू राज्यसत्ता र तिनका भाषा बोल्नेहरूसँग नजिकिएपछि (न)चाहेर ती समुदाय/समाजको हविगत बनाउँछन् ? नाटकका सुजम्बर, जो खालिङहरूले जान्ने/बुझ्ने व्यक्तिका रूपमा मान्दछन् । तर, उनैले खस नेपाली भाषा सिकिमाग्ने नाममा एकल नस्लीय राज्यसत्ताका प्रतिनिधित्व गर्नेहरूलाई गाउँ भित्र्याउँछन् र आफ्नै भाषा र चालचलनमा रमाइरहेका गाउँलेलाई कज्याउँछन् ।
यो सन्दर्भलाई वर्तमान सापेक्षतामा हेर्दा त्यो ‘निरन प्रवृत्ति’ हो भन्न सकिएला; समुदायको हितमाथि सम्झौता गर्ने । पहिलेका सुजम्बरहरू अहिले निरन राईहरू भएर आउँछन् । जे होस् नाटकले सचेत गराएको हुनुपर्छ कि समुदाय/समाजमा कोही न कोही त्यस्ता निस्किरहन्छन्, जसले समुदायको निजत्वमाथि सम्झौता गरिरन्छन्, उनीहरूबाट जोगिनू !
समग्रमा भन्दा नाटकले भाषिक समस्याले जन्माएको चरम विदेभको कटु-कथा सुनाउँदछ । यसबाहेक केही कुरा; नाटकमा मुन्दुमअनुरूपका पूजाआजा देखाइएको छ । त्यसमा धूप जलाइन्छ तर, वास्तविक सुबास्ना भने आउँदैन, त्यहाँ वास्तविक धूप (सुनपाती, भैरूङपाती) नै जलाइँदा दर्शकदीर्घाले अझ पूराका पूरा नाटकको कथासारलाई महसुस गर्न सक्लान् ।
यस्तै गाउँका खालिङहरूले कोदो टिपिरहेको दृश्य देखाइएको छ तर, थुन्से र खुर्पा नहुँदा अलिक खल्लो भएको हो कि भन्ने लाग्दछ । यदि त्यो पनि वास्तविक रूपमा नै देखाइँदा दर्शकहरूलाई नाटक बुझ्न अझ सहज हुनसक्छ ।
अनि अन्तिममा सुजम्बरको समन्वयमा गाउँ पसेका राज्यसत्ताका भाषा बोल्नेहरूको छोरा/नातिले खालिङ गाउँकी एक युवतीलाई ‘भुँडी’ बोकाउँछ । त्यो अवस्थाबारे निर्णय लिन कचहरी बस्छ र उनीहरूलाई डाँडा कटाउने निर्णय हुन्छ । तर, भुँडीचाहिँ देखिँदैन । त्यहाँ भुँडी बोकेको कसरी थाहा भयो ? भन्ने प्रश्न उठ्नसक्छ । कमसेकम यो पङ्क्तिकारलाई त्यो लाग्यो ।
खैर पङ्क्तिकारले प्रिमीयर शो हेरेको हो । लेखक गीलु रातोसले अनौपचारिक कुराको क्रममा भन्दै थिए कि कतिपय कुराहरू मिलाउनै बाँकी छ, योचाहिँ रिहर्सलजस्तै जस्तै हो । पङ्क्तिकार विश्वस्त छ कि नाटक अझ परिपक्व भएरै जानेछ ।
यसबाहेक भन्नैपर्छ कि निर्देशक र परिकल्पनाकार अनिल सुब्बाले मञ्च निर्माणमा राम्रो मेहनत गरेका छन् । कलाकारहरू सबै पारङ्गत लाग्छन् । उनीहरू सबै आफूले पाएको पात्रको पात्रता निभाउन माहिर लाग्छन् । त्यसमा पनि अझ सशक्त लाग्नेचाहिँ सुजम्बरपत्नी, जजमान (गाउँका मुखिया) र पुरेत हुन् ।
यसबाहेक त गीलु-अनिल सहकार्यबाट जे काम भएको छ, गजब भएको छ । उनीहरूले समुदाय/समाजमा रहेको अलिखित कथालाई रङ्गमञ्चसम्म ल्याएका छन् । खासगरी आदिवासी जनजातिका कथाहरू पुस्तान्तरण हुन सकस परिरहेको र चाँडोचाँडो कथा भन्नुपर्ने/सुनाउनुपर्ने चुनौती रहेको समयावधिमा मेषी दण्डजस्तो कामका लागि गीलु-अनिल धन्यवाद र बधाईका पात्र कसरी नहोलान् ?
मेषी दण्डबारे हामीमध्ये प्राय:ले सुनेका पनि थिएनौँ तर, अहिले आएर नाटककै रूपमा हेर्न पाउनु सबैको सौभाग्यको कुरा हो । खासगरी अझ मेरो पुस्ताका लागि यो सुखद विषय हो ।
एउटा अर्को सुखद पक्षचाहिँ के भने पछिल्लो समय आदिवासीहरूले आफूले वर्तमान राज्यसत्ता र समाजलाई सुनाउनैपर्ने कथाहरू रङ्गमञ्चमार्फत सुनाउने गजब जमर्को गरिरहेका छन् । त्यो बाखाम्माको माध्यमबाट होस् वा मासिन्या । मेषी दण्डको माध्यमबाट होस् वा मञ्चनमा आउँदै गरेको सोरठी । जे होस्, यो क्रम जारी रहनुपर्छ ।
Facebook Comment
Comment