काठमाडौं । अमेरिकाको भिसा सिफारिस गरेपछि विवादमा तानिएकी उपसभामुख इन्दिरा रानामगरविरुद्ध संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ ।
पदको दुरुपयोग गरी काठमाडौंस्थित अमेरिकी राजदूतावासमा गैरसंसद् व्यक्तिलाई भिसा सिफारिस गरेको भन्दै उजुरी परेको हो ।
उपसभामुखमाथि छानबिन गरी जिम्मेवारीबाट हटाउनसमेत माग गर्दै भक्तपुरका अर्जुन बास्कोटाले राज्य व्यवस्था समितिमा उजुरी दिएका हुन् ।
समितिका सभापति रामहरि खतिवडाले उपसभामुखविरुद्ध उजुरी परेको बताए । यसबारेमा सभामुख देवराज घिमिरेलाई जानकारी गरेको बताए ।
उनले उपसभामुख रानामगरसमेत उपस्थित भएको संसद्को कार्य व्यवस्था परामर्श समितिमा यसबारे सभामुखसँग छलफल गरेको उल्लेख गरे ।
उपसभामुख रानामाथि ‘मानव तस्करी’को आरोप, बाहिरियो अमेरिकी दूतावासमा भिसाका लागि सिफारिस गरेको पत्र
उपसभामुख रानाले पदको दुरुपयोग गरेर पाँच जनालाई अमेरिकामा लग्ने गरी पत्र लेखेको सार्वजनिक भएको छ । संयुक्त राष्ट्र संघको संयन्त्र कमिसन अन द स्टाटस अफ वुमेनको ६७औं सत्र २०७९ साल फागुन २२ देखि चैत ३ गतेसम्म अमेरिकाको न्यूयोर्कमा भएको थियो ।
त्यही कार्यक्रममा भाग लिन जान लागेकी उपसभामुखले महिला अधिकारको अभियानसँग असम्बन्धित ४ पुरुष र एक महिलालाई आफूसँग लाने प्रक्रिया अघि बढाएकी थिइन् ।
आफूसँगै ६ जना यो कार्यक्रममा जान लागेको भन्दै उनले भिसाको अन्तर्वार्ता छिटो गरिदिन अमेरिकी दूतावासलाई उपसभामुखको लेटरप्याड प्रयोग गरेर पत्र लेखेकी थिइन् ।
संसदसँग असम्बन्धित व्यक्तिहरूलाई आफ्नो टीममा राखेर सिफारिस गरिएको पाइएपछि रानामाथि प्रश्न उठेको हो । यद्यपि, ती व्यक्तिहरूले अन्तर्वार्ताको डेट पाउन सकेनन् । उपसभामुख एक्लै अमेरिका गएर फर्केकी थिइन् ।
उपसभामुखले ‘पैसा लिएर भिसा सिफारिस गरेको’ आरोप लागेपछि रास्वपामा हलचल, सोधपुछ गर्ने भनाइ
यो विषय रास्वपाको जानकारीमा रहे पनि गुपचुप राखिरहेको थियो । बाहिर सार्वजनिक भएपछि मात्र रास्वपाले छानबिन गर्ने दाबी गरेको हो ।
भिसाका लागि नभएर अन्तर्वार्ताको डेटका लागि मात्र सिफारिस गरिएको हुँदा यो त्यति ठूलो विषय नभएको भन्दै रास्वपाका नेताहरु पन्छिरहेका छन् ।
उपसभामुख रानाले गलत नियतले पत्र नलेखेको बताएको भन्दै रास्वपाका नेताहरु पन्छिरहेको छन् । उपसभामुखले भिषा अन्तरवार्ता सिफारिस गर्दा आर्थिक लेनदेन भएका घटना बाहिरिएका छन् ।
Facebook Comment
Comment