काठमाडौं । आफ्नो पार्टीबाट निर्वाचित उपसभामुख इन्दिरा रानामाथि तथ्यसहित ‘मानव तस्करी’को आरोप लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसबारे आन्तरिक रूपमा छानबिन गर्ने बताएको छ ।
पार्टीका उपसभापति डोलप्रसाद अर्यालले उपसभामुख रानासँग समेत सोधपुछ गरेको दाबी गरेका छन् ।
रास्वपा पृष्ठभूमि भएकी उपसभामुख इन्दिरा रानाले बिचौलियासँग साँठगाँठ गरेर केही युवालाई अमेरिका पठाउन दूतावासमा सिफारिस गरेको पत्र सार्वजनिक भएपछि उनीमाथि आरोप लागेको हो ।
उपसभामुख रानाले नेपालस्थित अमेरिकी दूतावासमा केही युवालाई भिसा दिलाउन भन्दै आफ्नो कार्यालयको लेटरहेडमा सिफारिस गरेको पत्र बाहिरिएको छ ।
उपसभामुखले आफ्नो ओहदाको दुरुपयोग गर्दै अमेरिकी दूतावासलाई लेखेको एउटा पत्रमा आफूसहित केही अञ्जान व्यक्तिहरूलाई भिसाको अन्तर्वार्ताका लागि डेट मिलाइदिन सिफारिस गरेकी छन् ।
उपसभामुख रानामाथि ‘मानव तस्करी’को आरोप, बाहिरियो अमेरिकी दूतावासमा भिसाका लागि सिफारिस गरेको पत्र
संसदसँग असम्बन्धित व्यक्तिहरूलाई आफ्नो टीममा राखेर सिफारिस गरिएको पाइएपछि रानामाथि प्रश्न उठेको हो । यद्यपि, ती व्यक्तिहरूले अन्तर्वार्ताको डेट पाउन सकेनन् । उपसभामुख एक्लै अमेरिका गएर फर्केकी थिइन् ।
यो विषय रास्वपाको जानकारीमा रहे पनि गुपचुप राखिरहेको थियो । बाहिर सार्वजनिक भएपछि मात्र रास्वपाले छानबिन गर्ने दाबी गरेको हो ।
उपसभापति अर्यालले बाहिर आएका विषयवस्तुबारे पार्टीले अध्ययन गरिरहेको बताए ।
भिसाका लागि नभएर अन्तर्वार्ताको डेटका लागि मात्र सिफारिस गरिएको हुँदा यो त्यति ठूलो विषय नभएको भन्दै रास्वपाका नेताहरु पन्छिरहेका छन् ।
उपसभामुख रानाले गलत नियतले पत्र नलेखेको बताएको भन्दै रास्वपाका नेताहरु पन्छिरहेको छन् । उपसभामुखले भिषा अन्तरवार्ता सिफारिस गर्दा आर्थिक लेनदेन भएका घटना बाहिरिएका छन् ।
Facebook Comment
Comment