सिंहदरबारबाट रक्षामन्त्री राईको प्रण- नजानेर फस्छु कि भन्ने चिन्ता मात्रै हो, जानेर गलत कहिल्यै गर्दिनँ

उसो त मानवीर पहिलोपटक मन्त्री बनेका हुन् । अनुभव नहुँदा उनलाई समस्या छ । तर, त्यो समस्यालाई उनले सहज रूपमा ग्रहण गरेका छन् । उनी अहिले अनुभवी नेता तथा सचिवहरूसँगको निरन्तर संवादमा छन् ।

सिंहदरबारबाट रक्षामन्त्री राईको प्रण- नजानेर फस्छु कि भन्ने चिन्ता मात्रै हो, जानेर गलत कहिल्यै गर्दिनँ

काठमाडौं । पछिल्लो संसदीय निर्वाचनमा पूर्वमन्त्री बलबहादुर केसीलाई पछार्दै हिमाली जिल्ला सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ऊर्फ रक्षामन्त्री मानवीर राई, हिजोआज सिंहदरबारस्थित रक्षा मन्त्रालयमै भेटिन्छन् ।

मन्त्रीको पदभार सम्हालेयता उनलाई बधाई र शुभकामना दिन मन्त्रालय पुग्नेहरूको भीड छ । त्यही भीडमा मिसिएर यो पङ्क्तिकारसहित जिल्लाका केही पत्रकारहरू पनि मन्त्रालय पुगे ।

भेटपछि बधाई र शुभकामना भनियो र केही तस्वीरहरू खिचियो । नयाँ भएका कारणले खासै सञ्चारमाध्यममा देखिन नचाहेका मन्त्री मानवीरले भने, “पत्रकार साथीहरू हुनुहुन्छ, तस्वीर त खिचिहाल्नुहुन्छ नै ।”

त्यसपछि मन्त्रीको सुरक्षार्थ सँगै उभिएका सुरक्षाकर्मीले आग्रह गरे, “तस्वीरचाहिँ लिनुस्, भिडिओचाहिँ नखिच्नुहोला ।” हामीले आग्रहअनुरूप नै गर्‍यौँ र अनौपचारिक कुराकानी अगाडि बढायौँ ।

हामीले सोध्यौँ कि के सोचिरहनुभएको ? कसरी काम गर्ने सोच्दै हुनुहुन्छ ? जवाफमा मन्त्री राईले भने, “जानेर गलत गर्दिनँ । तर, कहीँ नजानेर फस्छु कि भन्ने चिन्ता मात्रै हो ।”

त्यसो त मन्त्री राईको पृष्ठभूमि स्वच्छ छ । यो पङ्क्तिकारलाई थाहा भएसम्म उनीमाथि कुनैखाले आरोपसमेत छैन । जिल्लामै बसेर लामो समय राजनीति गरेका उनीसँग अहिले नेकपा (एमाले) को केन्द्रीय सदस्यको पोर्टफोलियो छ ।

हाम्रो जिज्ञासामा उनी थप्छन्, “निजी स्वार्थहरूलाई कहिल्यै अघि बढाउँदिनँ । नियम, कानून र संविधानभन्दा बाहिर जान्नँ र मेरो मातहतका निकायलाई पनि त्यही कुरा निर्देशित गरिसकेको छु ।”

मन्त्री राई हदैसम्म शालीन र संयमित छन् मन्त्री बनेयता । “पहिलेजस्तो बोल्दिनँ पनि अब । मैले तपाईंहरूलाई त्यही भन्छु, बरु बाहिर पनि त्यही कुरा भनिदिनुहोला । पहिले सांसद मात्रै हुँदाजस्तो बोल्दिनँ, बोल्न पनि मिल्दैन ।”

त्यसो त रक्षा मन्त्रालय संयमित मात्रै होइन, ‘हेबीवेट’ मन्त्रालय पनि हो । एमालेबाटै पनि विद्यादेवी भण्डारी, ईश्वर पोखरेललगायतका नेताहरूले सम्हालेका हुन् यो मन्त्रालय । यसपटक भने प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले त्यो मन्त्रालय राईलाई दिए ।

नेपाली सेनाको विभागीय नेतृत्व गर्ने यो मन्त्रालयले देशको अन्तर्राष्ट्रिय सम्बन्धमा समेत मान्य राख्दछ । त्यसमा मन्त्री राई संवेदनशील छन् । उनी भन्छन्, “मैले सानै कुरा बोलेँ भनेपनि अन्तर्राष्ट्रिय सम्बन्ध, आन्तरिक रूपमा पनि धेरै असर पर्नसक्छ । त्यसैले मैले तत्कालै केही बोल्नेवाला छैन ।”

उसो त मानवीर पहिलोपटक मन्त्री बनेका हुन् । अनुभव नहुँदा उनलाई समस्या छ । तर, त्यो समस्यालाई उनले सहज रूपमा ग्रहण गरेका छन् । उनी अहिले अनुभवी नेता तथा सचिवहरूसँगको निरन्तर संवादमा छन् । जे होस्, उनी नबुझेको र नदेखेको विषयमा बोलिहाल्दैनन् । मन्त्री राईको यो खासियत पनि हो ।

हामी मन्त्रालय छिर्नुअघि पनि उनी सचिवसँगको संवादमै थिए, सचिवसँगको संवाद सक्नेबित्तिकै उनले हामीलाई डाके र भेट भयो । सुरुमै उनले भने, “म पात्र हुँ, यसको जस तपाईं-हामी सबैलाई जान्छ ।”

शालीन र भद्र राई व्यक्तिगत कुनै लालच नभएको दोहोर्‍याउँछन् । “मरेर लानु के छ र, अवसर पाउँदा कमाउने/जमाउने हो भनेर मान्छे लोभिन्छन् । तर, म त्यस्तो गर्दिनँ,” उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved