काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई राष्ट्रपति चुनावबाट आफ्नो उम्मेदवारी फिर्ता लिन दबाब बढ्दै गएको छ ।
पूर्वराष्ट्रपति बाराक ओबामाले पनि बाइडेनको उम्मेदवारीप्रति चिन्ता व्यक्त गरेका छन् । बाइडेनलाई लिएर डेमोक्रेटिक पार्टीभित्र धेरै आवाज उठ्न थालेका छन् ।
अर्कोतर्फ रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले सर्वेक्षणमा अग्रता लिइरहेको देखिन्छ । यस्तो अवस्थामा बाइडेनको अभियान थप दबाबमा देखिन थालेको छ ।
केही डेमोक्रेटहरूले राष्ट्रपति चुनावमा पार्टीको सम्भावनाको अन्धकार चित्र प्रस्तुत गरिरहेका छन् ।
यद्यपि, डेमोक्रेटिक पार्टीका एक वरिष्ठ अधिकारीले भने, ‘पार्टीका केही व्यक्तिहरूले दौडबाट बाइडेनको उम्मेदवारी फिर्ता अपरिहार्य छ भन्ने विश्वास गर्छन् ।’
सीबीएस न्यूजले गरेको सर्वेक्षणले बाइडेन ट्रम्पभन्दा पाँच अंकले पछाडि रहेको देखाउँछ । अभियानको क्रममा यो अहिलेसम्मको सबैभन्दा ठूलो भिन्नता हो ।
तर, बाइडेनको अभियानले डेमोक्रेटिक पार्टीका केही शीर्ष नेताहरूमा व्यक्त गरिएको चिन्तालाई बेवास्ता गरेको छ । बाइडेनले पनि यी चिन्ताहरूलाई आधारहीन भनेका छन् । उनले उम्मेदवारी नछाड्ने बताएका छन् ।
वाशिंगटन पोस्टका अनुसार पूर्वराष्ट्रपति ओबामाले व्यक्तिगत रूपमा बाइडेनको राष्ट्रपति चुनाव जित्ने सम्भावना कम भएको बताएका छन् । यद्यपि, ओबामाका प्रवक्ताले उनको टिप्पणीबारे कुनै पनि बयान दिन अस्वीकार गरे ।
बाइडेनको ढिलाइ र ओबामाको टिप्पणीसँग सम्बन्धित सर्वेक्षण परिणामहरू अघि डेमोक्रेटकै नेतृ तथा पूर्वसभामुख न्यान्सी पेलोसी र कांग्रेसका दुई सबैभन्दा वरिष्ठ सदस्यहरू हाकिम जेफ्रीस र चक शूमरले पनि बाइडेनलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका थिए ।
यद्यपि तिनीहरूमध्ये कसैले पनि बाइडेनलाई यो सल्लाह दिएको औपचारिक रूपमा बताएका छैनन् ।
पार्टीमा निराशाको वातावरण
डेमोक्रेटिक पार्टीका एक वरिष्ठ अधिकारीले भने, ‘वासिङ्टनमा निराशाको वातावरण छ । हामी सबै अपरिहार्य निर्णयको पर्खाइमा छौं ।’
वाशिंगटन राज्यका कांग्रेसका डेमोक्रेटिक सदस्य एडम स्मिथले पनि निराशाजनक तस्वीर प्रस्तुत गरे ।
बीबीसी रेडियो ४ कार्यक्रम ‘द वर्ल्ड टुनाइट’मा उनलाई डेमोक्रेटिक पार्टी अब बाइडेनको उम्मेदवारीको अन्त्यतिर गइरहेको छ ? भनेर सोधिएको थियो । जवाफमा उनले भने, ‘मलाई त्यस्तै लाग्छ ।’
यद्यपि, उनले तुरून्तै आफ्नो बोली बदले र भने, ‘मलाई यसबारे थाहा छैन तर, अब पार्टी बाइडेनको उम्मेदवारीको अन्त्यतिर गइरहेकोमा कुनै शंका छैन ।’
जुन २०२४ मा पहिलो राष्ट्रपतिय बहसमा ट्रम्पविरूद्ध खराब प्रदर्शनपछि बाइडेनको लागि कठिन समय सुरु भएको थियो ।
केही समययता उनी मानिसको नाम बिर्सेर सार्वजनिक मञ्चमा ठक्कर खाइरहेको देखिन्छ । अहिले उनी पनि कोभिड-१९ को सिकार भएका छन् । र, हाल डेलावेयरमा आइसोलेसनमा छन् ।
यसको विपरीत ट्रम्प उत्साहले भरिएका छन् । पेन्सिलभेनियामा आफूमाथि भएको घातक हमलापछि उनी मिलवाकीमा रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनमा सहभागी भएका छन् ।
त्यहाँ उनले आफ्नो भाषणमा भगवान् आफ्नो साथमा रहेको बताएका थिए । सम्मेलनमा भेला भएका रिपब्लिकन नेता तथा समर्थकमा उत्साह भरिएको देखिन्थे । उक्त सम्मेलनमा उनले औपचारिक रूपमा आफ्नो उम्मेदवारी स्वीकार गरेका थिए ।
यसको विपरित आफ्नो पार्टीको दबाबको बाबजुद बाइडेन आफ्नो उम्मेदवारी छोड्ने मूडमा छैनन् । उनले अहिले पनि पार्टीका नेताहरूको समर्थन पाइरहेका छन्, विशेष गरी कांग्रेसका अश्वेत सदस्यहरूको ककस ।
तर, अहिले उनीमाथि लोकतान्त्रिक नेतृत्वबाट दबाब बढेको प्रष्ट हुँदै आएको छ ।
बाइडेन किन पछि हट्न तयार छैनन् ?
सिनेट बहुमत नेता चक शुमर र सदन अल्पसंख्यक नेता हकिम जेफ्रीसले व्यक्तिगत रूपमा बाइडेनलाई भेटेका थिए । र, भनेका थिए, ‘कांग्रेसमा सहकर्मीहरू चिन्तित छन्, तपाईको व्यक्तिगत समस्याले पुन: चुनावको सम्भावनालाई कमजोर बनाएको छ ।’
शुमर सिनेटमा बहुमतका नेता हुन् । बहुमत नेता सिनेटमा आफ्नो पार्टीको मुख्य प्रतिनिधि हो । उनी सिनेटमा सबैभन्दा शक्तिशाली सदस्य मानिन्छन् ।
यद्यपि, शुमरले यी रिपोर्टहरूलाई शुद्ध भएको बताएका छन् । तर, जेफ्रीसले भने, ‘बाइडेनसँगको कुराकानी गोप्य थियो र निजी रहनेछ ।’
यसैबीच सीएनएनले रिपोर्ट गरेको छ, ‘पूर्व सभामुख न्यान्सी पेलोसीले बाइडेनलाई भेटेर भनेकी छिन्- पूर्वचुनाव सर्वेक्षणले तपाईले फेरि जित्नुहुन्न ।’ तर, उनले सीएनएनको रिपोर्टलाई उत्तेजक हिस्टेरिया भनेकी छन् ।
यद्यपि, उनले बाइडेनसँगको भेटलाई अस्वीकार गरेका छैनन् ।’
वाशिंगटन पोस्टको रिपोर्टमा भनिएको छ, ‘पूर्व राष्ट्रपति बाराक ओबामाले आफ्ना केही सहयोगीहरूलाई भनेका थिए, बाइडेनले आफ्नो उम्मेदवारीमा अडिग रहनु उचित हो कि भनेर गम्भीरतापूर्वक विचार गर्नुपर्छ ।’
मेरील्याण्डका सांसद जेमी रेस्किनले बाइडेनलाई एउटा पत्र लेखेका छन् र उनको करियरको अन्तिम चरणमा रहेको बेसबल पिचरसँग तुलना गरेका छन् । उनले सन्यास लिन लाज नहुने पनि लेखेका छन् ।
उनले लेखेका छन्, ‘जब तपाईको हात-खुट्टा थाकेको हुन्छ, प्रशस्त प्रशंसाको बीचमा सेवानिवृत्तिको घोषणा गर्न कुनै समस्या हुँदैन ।’
तर, बाइडेनको चुनावी अभियानका एक वरिष्ठ सल्लाहकारले अज्ञात स्रोतहरूमा आधारित यी रिपोर्टहरूलाई ‘शुद्ध अनुमान’ भनेका छन् ।
ती सल्लाहकारले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेका छन्, ‘जो बाइडेन हाम्रो पार्टीका उम्मेदवार हुन् । उनी फेरि राष्ट्रपति चुनावको दौडमा छन् ।’
बाइडेनका अभियानका उपप्रबन्धक क्वेन्टिन फल्क्सले भने, ‘बाइडेन कुनै पनि कुराबाट पछि हट्ने छैनन् । राष्ट्रपतिले आफ्नो मन बनाइसकेका छन् । म अस्पष्ट हुन चाहन्न । तर, मलाई थाहा छैन मैले कति पटक यसको जवाफ दिनुपर्छ ।’
चुनावी अभियान रोकियो
यसैबीच बाइडेनलाई कोभिड–१९ सङ्क्रमण भएको खबर आएपछि उनका चिकित्सकले राष्ट्रपतिलाई कोभिडसँगै श्वासप्रश्वासको हल्का समस्या रहेको बताएका छन् । तर, उनलाई ज्वरो आएको छैन ।
बुधबार बाइडेनका प्रेस सेक्रेटरीले ८१ वर्षीय बाइडेनको कोभिड रिपोर्ट पोजेटिभ आएको तर, उनको संक्रमण गम्भीर नभएको बताएका थिए । तर, बाइडेन डेलावेयरमा आफ्नो घरमा एक्लै बस्नेछन् र आफ्नो दैनिक कार्यहरू जारी राख्नेछन् ।
ह्वाइट हाउसले राष्ट्रपतिलाई भ्याक्सिन र यसको बूस्टर दुवै दिइएको र उनी यसअघि दुई पटक कोभिड पोजिटिभ भेटिएको बताएको छ ।
बुधबार बाइडेन लस भेगासमा आफ्ना समर्थकहरूसँग थिए । तर, पछि उनले नागरिक अधिकार संगठनमा आफ्नो भाषण रद्द गर्नुपर्यो ।
ट्रम्पमाथि घातक हमलापछि पनि चुनावी अभियान रोकिएको थियो । अब कोभिडले यसको अन्त्य गरेको छ ।
–बीबीसीबाट
Facebook Comment
Comment