काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी एक सेवकसँग २८४ करोड भारु बराबरको सम्पत्ति रहेको खुलेको छ । उनको निजी हेलिकप्टर छ । कतै जानको लागि उनी निजी हेलिकप्टर प्रयोग गर्दछन् ।
ढाका ट्रिब्यूनका अनुसार उक्त सेवकको नाम जहाँगीर आलम हो । उनी प्रधानमन्त्री हसिनाको घरमा पाहुनालाई पानी खुवाउने काम गर्थे ।
जहाँगीरले हसिनाको कार्यालय र घरमा भएको कामको उल्लेख गर्दै धेरैसँग घुस लिने गरेका थिए । काम गराइदिने आश्वासन दिएर पैसा असुल्ने धन्दा गर्थे, आलम ।
यो कुरा बाहिर आएपछि प्रधानमन्त्री हसिनाले तत्काल कारबाही गर्न निर्देशन दिएकी छन् । ढाका ट्रिब्युनको रिपोर्टका अनुसार जहाँगीर यसअघि नै अमेरिका भागिसकेका छन् ।
हालैमात्र बंगलादेशमा पूर्व सेना प्रमुख, प्रहरी अधिकारी, कर अधिकारी र धेरै सरकारी कर्मचारीहरूको भ्रष्टाचारका मुद्दाहरू बाहिर आएको छ । सोही सूचीमा प्रधानमन्त्रीका सेवकको नाम पनि परेको छ ।
सामान्य बंगलादेशीलाई यति कमाउन १३ हजार वर्ष लाग्ने
प्रधानमन्त्री हसिनाले भनिन्, ‘मेरो घरमा काम गर्ने व्यक्ति आज करोडौंको सम्पत्तिको मालिक छ, उसले यति पैसा कहाँबाट कमाएको हो ? बंगलादेशीले यति धेरै सम्पत्ति कमाउन १३ हजार वर्ष लाग्न सक्छ, सरकारले यी विषयमा गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको छ ।’
वास्तवमा विश्व बैंकका अनुसार १७ करोड जनसंख्या भएको बंगलादेशमा प्रतिव्यक्ति आय २.११ लाख रुपैयाँ छ । हसिनाका नोकर भ्रष्टाचारमा संलग्न रहेको खुलासा भएदेखि नै प्रतिपक्षले सरकारलाई घेरेको छ ।
बंगलादेशी नेसनलिस्ट पार्टी (बीएनपी)का प्रवक्ता वाहिदुज्जमानले भने, ‘हसिनाको सेवकसँग यति धेरै पैसा हुँदा उनको मालिकको कति छ भनेर अनुमान गर्न सकिँदैन । यसपछि पनि नोकर पक्राउ परेका छैनन् । भर्खरै उनलाई जागिरबाट हटाइयो ।’
हसिनाले जनवरीमा चौथो पटक सत्तामा आएपछि धेरै भ्रष्टाचारका मुद्दा बाहिर आएका छन् । बंगलादेशको भ्रष्टाचार विरोधी आयोगले हालै देशका पूर्व राष्ट्रिय प्रहरी प्रमुख बेनजिर अहमदविरुद्ध अनुसन्धान सुरु गरेको छ ।
कुनै समय हसिनासँग नजिक रहेकी बेनजीरमाथि करोडौंको सम्पत्ति रहेको आरोप छ, जुन उनले भ्रष्टाचार गरेर जम्मा गरेका छन् ।
अमेरिकाले सन् २०२१ मा अहमदमाथि धेरै प्रतिबन्धहरू पनि लगाएको थियो । अहमदमाथि सयौं व्यक्तिको अचानक बेपत्ता वा हत्याका घटनामा संलग्न रहेको आरोप थियो।
यसैबीच बंगलादेशका स्थानीय पत्रिकाहरूले देशका पूर्व सेना प्रमुख अजिज अहमदमाथि भ्रष्टाचारको आरोप पनि लगाएका छन् । उक्त रिपोर्ट बाहिर आएपछि भ्रष्टाचार विरोधी आयोगले अजिजको धेरै सम्पत्ति जफत गरेको थियो । यसबाहेक उनको बैंक खाता पनि रोक्का गरिएको छ ।
Facebook Comment
Comment