काठमाडौं । कामको खोजीमा साढे सात लाख नेपालीले देश छाडेका छन् ।
गत आर्थिक वर्षमा झण्डै साढे ७ लाखले श्रम स्वीकृति लिएर विदेश उडेका हुन् । वैदेशिक रोजगार विभागका अनुसार सात लाख ४३ हजार ५९७ जना श्रम स्वीकृति लिएका छन् ।
अघिल्लो आर्थिक वर्षमा यो भन्दा अलि बढी सात लाख ७१ हजार ३२८ जना वैदेशिक रोजगारीमा गएका थिए ।
तथ्यांकलाई आधार मान्दा हरेक दिन २ हजार भन्दा बढी युवाले देश छाड्न थालेका छन् । स्वदेशमा रोजगारीका अवसर नहुँदा युवाहरु काम खोज्दै विदेश जाने क्रम बढेसँगै गाँउघर रित्तिन थालेका छन् ।
सरकारले श्रम स्वीकृति दिएर विदेश जान अनुमति दिन थालेको ३० वर्ष भएको छ । वैदेशिक रोजगारको ३० वर्षको इतिहासमा आर्थिक वर्ष २०७९–८० मा सबैभन्दा धेरै ७ लाख ७१ हजार ३ सय २८ युवाले विदेश जान श्रमस्वीकृति लिएका थिए ।
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै विप्रेषण दरमा पनि वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैङ्कले असारको अन्तिममा सार्वजनिक गरेको तथ्यांक अनुसार चालुु आवको ११ महिना (जेठ) सम्म १३ खर्ब २७ अर्ब ५१ करोड रुपियाँ नेपाल भित्रिएको छ ।
प्रतिवेदन अनुसार ११ महिनामा विप्रेषण दर १९ दशमलव ३ प्रतिशतले वृद्धि भएको हो । तथ्यांकले मासिक एक खर्ब २२ अर्ब रुपियाँ नेपाल भित्रिएको देखाएको छ ।
Facebook Comment
Comment