बजेट पास नभएपछि सुदूरपश्चिम सरकारको आर्थिक गतिविधि ठप्प

नेपालभ्युज

बजेट पास नभएपछि सुदूरपश्चिम सरकारको आर्थिक गतिविधि ठप्प

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट पास नहुँदा प्रदेश मातहतका निकायमा आर्थिक गतिविधि ठप्प भएका छन् । असार मसान्तभित्र बजेट पास गर्नैपर्ने संवैधानिक व्यवस्था भएपनि राजनीतिक समिकरण फेरिएसँगै बजेट अलपत्र परेको हो ।

नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेको सरकारले न त बजेट पास गर्न सक्यो, न सरकारनै छोडेको छ । बजेट फेल भइसक्दा एकअर्कालाई दोष थुपार्दै दल पन्छिरहेका छन् ।

तत्कालीन आर्थिक मामिलामन्त्री सुरेन्द्र पालले असार १ गते प्रदेश सभामा ३१ अर्ब ६२ करोड २८ लाख बराबरको बजेट पेस गरेका थिए । तर, बजेट आएपछि सरकारले बजेटमाथिको छलफल सुरु गर्न चासो देखाएन ।

असार अन्तिममा एकैदिन छलफल गरी बजेट पास गर्ने रणनीतिमा रहेको सरकारलाई असार २० गते एमालेले समर्थन फिर्ता लिएपछि छलफल भएन।

सोहीकारण सरकारले ल्याएको बजेट तोकिएको समयमा प्रदेश सभाबाट पारित हुनसकेन । यो अवस्थामा सरकारले केही आकस्मिक बाहेक खर्च गर्न पाउँदैन ।

आजदेखि प्रदेश सरकार मातहतका निकायहरुले राजश्व उठाउन बन्द गरेका छन्, जसअनुसार यातायात कार्यालय तथा मालपोत कार्यालय ठप्प छन् ।

साथै, कर्मचारीहरु कामविहिन बनेको आर्थिक मामिला मन्त्रालयका उपसचिव सिद्धराज जोशीले बताए । नयाँ आर्थिक वर्षसँगै बजेट कार्यान्वयन गर्नुपर्ने बेला कर्मचारीहरुका हात बाँधिएका छन् ।

प्रदेशसभामा बजेट पेस गरेको एमालेले हाल मुख्यमन्त्री दीर्घ सोडारीको राजीनामा मागिरहेको छ । यो बजेट फेल भइसकेको र मुख्यमन्त्री अल्पमतमा परिसकेको भन्दै राजीनामा मागिरहेको एमालेलाई काग्रेसको साथ छ ।

यति मात्रै नभएर अहिले नागरिक उन्मुक्ति पार्टीसमेत एमाले, कांग्रेसकै कित्तामा उभिएको छ । यता सत्तामा रहेको दलहरु भने सबै दोष एमालेकै भएको भन्दै तत्काल सत्ता छोड्ने मुडमा छैनन् ।

प्रदेश सरकारका प्रवक्ता समेत रहेका जलस्रोत तथा सहरी विकास मन्त्री अक्कल रावल भन्छन्, ‘सदनबाट बजेट पास हुने अवस्था नभएपछि अध्यादेशबाटै भएपनि निकास दिने तयारीमा थियौँ, त्यसका लागी सदन अन्त्य गरिनुपर्छ, सदन अन्त्यका लागी सिफारिस गरेको ५ दिन भइसक्यो, प्रदेश प्रमुख काठमाडौंमा हुनुहुन्छ, त्यही कारण अध्यादेशको प्रक्रियापनि रोकिएको छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved