काठमाडौं । नेपाली कांग्रेसले सरकारमा पठाउने मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।
लामो छलफलपछि कांग्रेसले आजै सपथ लिनेगरि सरकारमा पठाउने मन्त्रीहरुको नाममा सहमति जुटाएको हो ।
एकाध नाममा भने अझै नेताहरुबीच छलफल भइरहेको कांग्रेस नेता रामहरि खतिवडाले बताए । कांग्रेसले पार्टीका तर्फबाट नेतृत्व गर्दै प्रकाशमान सिंहलाई सरकारमा पठाउने भएको छ । उनको मन्त्रालय भने टुंगो लागिसकेको छैन ।
सिंहले रक्षा मन्त्रालयलमा रुचि राख्दै आएका थिए तर रक्षा मन्त्रालय एमालेको भागमा परेको छ ।
कांग्रेसले रमेश लेखकलाई गृहमन्त्री बनाउने भएको छ भने आरजु देउवा राणा परराष्ट्रमन्त्री बन्ने भएकी छन् । अजय चौरसियालाई कांग्रेसले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनाउने भएको छ ।
दिपक खड्का, ऐनबहादुर शाही, किशोर सिंह राठोर र दिपक गिरीको नाममा सहमति जुटिसकेको छैन । खड्का र गिरीमध्ये एक तथा ऐनबहादुर शाही र राठोरमध्ये एकजनालाई मन्त्री बनाउने गरि छलफल भइरहेको नेता खतिवडाको भनाई छ ।
मन्त्री बन्नेको सूचीमा तेजुलाल चौधरीको नाम पनि परेको छ । उनको पनि मन्त्रालयको टुंगो लागिसकेको छैन । चौधरीले स्वास्थ्य मन्त्रालयको चाहना गरेका छन् ।
शेखर–गगन समूहका चौधरी बाहेक जीवन परियार, प्रदीप पौडेल, हृदयराम थानी र रामनाथ अधिकारीका नाममा टुंगो लाग्न बाँकी छ ।
कांग्रेसको भागमा गृहसहित परराष्ट्र, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शहरी विकास, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वन तथा वातावरण, स्वास्थ्य तथा जनसंख्या, ऊर्जा, जलस्रोत तथा सिँचाइ र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय परेका छन् ।
Facebook Comment
Comment