काठमाडौं । नेपाल घरजग्गा तथा आवास विकास महासंघले मौद्रिक नीति व्यवहारिक रूपमा कार्यान्वयन हुने गरी ल्याउन माग गरेको छ । महासंघले मुलुकको अर्थतन्त्र संकुचित भएको अवस्थामा राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीति व्यवहारिक रूपमा कार्यान्वयन हुने गरी ल्याउनुपर्ने माग गरेको हो ।
महासंघका अध्यक्ष भेषराज लोहनीले मुलुकको अर्थतन्त्रलाई स्थायित्व दिने गरी लचिलो मौद्रिक नीति ल्याउनुपर्ने अहिलेको आवश्यकता रहेको बताए । उनले राष्ट्र बैंक घरजग्गा कारोबारप्रति कठोर नभई उदार भएर मौद्रिक नीति तर्जुमा गर्न आवश्यक रहेको बताए ।
घरजग्गा कारोबारमा कर्जा आम्दानी अनुपातलाई न्यूनतम ८० प्रतिशत पुर्याउन उनले माग गरेका छन् । अध्यक्ष लोहनीले घर जग्गा कर्जाको हकमा पनि लोन टु भ्यालु रेसियो ८० प्रतिशत नै पुर्याउनुपर्नेमा जोड दिए ।
उनले घरजग्गा कारोबारमा कर्जाको रि–स्ट्रक्चर र रि–सेडुल गर्ने व्यवस्था मौद्रिक नीतिले गर्नुपर्ने बताए । उनले घरजग्गा कारोबार कर्जाको जोखिम भारलाई १२५ बाट घटाएर १०० प्रतिशतमा ल्याउनुपर्ने माग राखेका छन् ।
‘घरजग्गा कारोबारमा कर्जा आम्दानी अनुपातलाई न्यूनतम ८० प्रतिशत पुर्याउनुपर्छ । घर जग्गा कर्जाको हकमा पनि लोन टु भ्यालु रेसियो ८० प्रतिशत नै पुर्याउनुपर्छ । कर्जाको जोखिम भारलाई १२५ बाट घटाएर १०० प्रतिशतमा ल्याउनुपर्छ भन्ने राष्ट्र बैंकलाई हाम्रो सुझाव हो ।’ उनले भने ।
उनले लचिलो कर्जा प्रवाहमा कठोर नीति लिँदा चालु आर्थिक वर्षमा १३ प्रतिशत कर्जा प्रवाहको अपेक्षा गरे पनि अहिलेसम्म ५० प्रतिशत पनि हुन नसकेको बताए । न्युज एजेन्सी
Facebook Comment
Comment