काठमाडौं । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–७ स्थित नारायणी नदी किनार र चितवनको भरतपुर महानगरपालिका–२८ गोलाघाटमा मृत भेटिएका दुवै पुरूषको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गैंडाकोटमा भेटिएका पुरूष भारतको बेतिया मझेलिया थानास्थित गुठिया ईन्दु घर भएका ३० वर्षिय सजाद अन्सारी छन् ।
यस्तै, भरतपुर–२८ गोलाघाटमा मृत भेटिएका ३० वर्षीय भारतीय नागरिक जयप्रकाश ठाकुर हुन् । मृतकका आफन्तको सहयोगमा सनाखत गरिएको प्रहरीले जनाएको छ ।
अन्सारी कलंकीमा व्यवसाय गरेर बस्ने गरेका थिए । उनी वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसका यात्रु रहेको खुलेको छ ।
यस्तै, ठाकुर काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश ३–००१ख २४९५ नम्बरको गणपति डिलक्स बसका यात्रु हुन् । उनीहरूको मुचुल्का गरेपछि पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
असार २८ गते बिहान भरतपुर-२९ सिमलतालमा आएको पहिरोले दुईवटा बस बगाएको थियो । काठमाडौंबाट गौर जाँदै गरेको बसमा ३८ र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बसमा २७ यात्रु रहेको अनुमान छ ।
जसमध्ये काठमाडौंबाट रौतहट जाँदै गरेको बसका ३ यात्रुले पौडिएर ज्यान बचाएका थिए ।
Facebook Comment
Comment