त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजी कार्य बिहानैदेखि सुरु, शक्तिशाली चुम्बक प्रयोग

नेपालभ्युज

त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजी कार्य बिहानैदेखि सुरु, शक्तिशाली चुम्बक प्रयोग

काठमाडौं । शुक्रबार बिहानदेखि त्रिशूली नदीमा हराइरहेका दुई वटा यात्रुबाहक बस र झण्डै ६० यात्रुको खोजी आज पनि बिहानैदेखि सुरु भएको छ ।

भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट बेपत्ता भएका बस र यात्रु नभेटिएपछि खोजी कार्य बिहानदेखि सुरु भएको हो ।

शुक्रबार र शनिबार दिनभरको प्रयासमा पनि फेला पार्न सकिएको छैन ।

खोजी कार्यको लागि नेपाली सेना र सशस्त्र प्रहरीका गोताखोर तथा नेपाल प्रहरी गरि पाँच सय बढी सुरक्षाकर्मी निरन्तर खटिएका छन् ।

आजदेखि घटनास्थल र तल तिर सबै सम्भावित स्थानसँगै देवघाटमा समेत खोजी कार्य सुरु गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए ।

आजबाट ठुलो चुम्बकको प्रयोग गरिने भएको छ ।

घटना भएको दुई दिनसम्म पहिरोले बस खसेको ठाउँ वरपर बाँसका भाटा, एन्कर हुक, गोताखोर, ड्रोन, वाटर ड्रोन, बाइनाकुलर टेलिस्कोपको सहायताले खोजी गरे पनि बस भेटिएको छैन ।

बेपत्ता यात्रीमध्ये तीनजनाको शव भने भेटिएको छ । नवलपरासीको गैँडाकोटमा फेला परेका दुवै शवको पहिचान खुलेको छ।

गैँडाकोटस्थित नारायणी नदी किनारमा शनिबार फेला परेको शव चितवन माडिका २२ वर्षीय विकास परियार र सर्लाही वरहथावा १९ वर्षीय रमित कुशर माझीको रहेको जिल्ला प्रशासन कार्यलय चितवनले जनाएको छ।

परियार भरतपुरबाट काठमाडौँ जाने क्रममा दुर्घटनामा परेका थिए । यसैगरी, माझी काठमाडौँबाट सर्लाही जाँदै थिए ।

यसअघि, शनिबार पश्चिम चितवनको मेघौली गोलाघाटस्थित नारायणी नदीमा भेटिएको शव बसका यात्रु ऋषि पाल साहले बोकेको भारतीय आधार कार्डको आधारमा पहिचान खुलेको थियो ।

शुक्रबार काठमाडौंबाट गौर जाँदै गरेको बस र वीरगञ्जबाट काठमाडौं आउदै गरेको अर्को बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा खसेका थिए।

काठमाडौंबाट गौर जादै गरेको बसमा २७ जना र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बसमा सवार २४ यात्रु रहेको टिकट बुकिङ् काउण्टरले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved