काठमाडौं । शुक्रबार नारायणगढ–मुग्लिन सडकअन्तर्गत सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका बस र यात्रू खोज्ने क्रममा एक जना मृत अवस्थामा भेटिएका छन् ।
चितवनको गोलाघाटस्थित नारायणी नदीबीचमा एक व्यक्ति मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार नदी बीचमा तैरिरहेको अवस्थामा अन्दाजी ३०/३५ वर्ष उमेरका व्यक्ति मृत भेटिएका हुन् ।
ती व्यक्तिको सनाखत हुन सकेको छैन । दुर्घटनामा परेका व्यक्ति हुन् वा होइनन् पहिचान गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले त्रिशूलीमा बगाएको थियो ।
बसमा सवार तीन जना पौडिएर ज्यान जोगाउन सफल भएका थिए । घटनामा ६० जनाभन्दा बढी बेपत्ता भएको अनुमान गरिएको छ ।
यात्रू खोज्न सशस्त्रका चार, नेपाल प्रहरीको एउटा मोटरबोट, गोताखोर टोलीलगायत परिचालन गरिएको छ ।
Facebook Comment
Comment