काठमाडौं । निजी क्षेत्रकै एक अग्रणी बैंक नबिलले आजबाट ४० वर्ष पार गरेको छ । सन् १९८४ जुलाई १२ तारिखमा जन्मिएको बैंकले अनवरत रूपमा जनतामा चार दशक बिताएको छ ।
आजबाट ४१ वर्ष पुगेको बैंकप्रति आममानिसको पनि ठुलै विश्वास रहेको पाइन्छ । निजी क्षेत्रका लगानीकर्ताहरूको लगानीमा स्थापना भएको नबिल बैंकले ४० वर्षे यात्रामा निजी क्षेत्रकै एक अग्रणी बैंकको ख्याति कमाएको छ ।
ग्राहकको सन्तुष्टिलाई केन्द्रमा राखेर आफ्नो व्यावसायिक यात्रा तय गरेको नबिल बैंक लगानीकर्तालाई उच्चतम प्रतिफल दिने बैंकको रूपमा स्थापित भएको छ ।
नबिल बैंकको जन्म कथा
नबिल बैंकको स्थापना कथा अरब बैंकसंग जोडिएको छ । आर्थिक वर्ष २०४१/०४२ को बजेटले बैंकिङ क्षेत्रमा विदेशी लगानीकर्तालाई प्रवेश दिने केही खुकुलो नीति लिएपछि नेपाल अरब बैंक सञ्चालनमा आएको थियो ।
२०५३ सालमा युएईका लगानीकर्ताको सेयरमध्ये नेशनल बैंक बंगलादेशले ५० प्रतिशत खरिद गरेपछि अरब भन्ने नाम हटाएर बैंकको नाम ‘नबिल’ राखियो । नबिल बैंक सुरु हुनुभन्दा अगाडि नेपालमा सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकले मात्र सेवा दिँदै आएका थिए ।
पछि युएईका लगानीकर्ता बाहिरिएपछि नेपालका उद्योगी विनोद चौधरीको परिवारले नबिल बैंकको बहुमत सेयर आफ्नो मातहतमा लिए । हाल यस बैंकमा चौधरी ग्रुप नै मुख्य लगानीकर्ता हो ।
ग्राहकको सन्तुष्टिलाई केन्द्रमा राखेर आफ्नो व्यावसायिक यात्रा तय गरेको नबिल बैंक लगानीकर्तालाई उच्चतम प्रतिफल दिने बैंकको रूपमा स्थापित भएको छ । लामो समयदेखि नबिल सर्वाधिक नाफा कमाउने ग्राहकको सेवामा समर्पित डिजिटल बैंकको पुरामा स्थापित भएको छ ।
नवीनतम वर्कमा ख्याति प्राप्त
बैंकले स्थापनाको सुरुवाती चरणदेखि नै बैंकिङ क्षेत्रमा नयाँ–नयाँ प्रस्तुति दिँदै आइरहेको छ । यस बैंक स्थापनाको क्यालेन्डर जति पुरानो हुँदै गयो, बैंकले दिने सेवा सुविधा पनि त्यत्ति नै पृथक् र प्रविधिमैत्री बनाउँदै लगिरहेको छ ।
कम्प्युटरमार्फत सेवा दिने काम नै नबिलले नेपालको बैंकिङ इतिहासमै पहिलो पटक सुरु गरेको थियो । ग्राहकको हस्ताक्षर पनि नबिलले नै पहिलो पटक डिजिटलमा सुरु गरेको हो । यसअघि ढड्डा हेर्नुपर्ने बाध्यता थियो । क्रेडिट कार्डमा अन्तर्राष्ट्रिय ब्रान्ड सुरु गर्ने पनि नबिल नै हो ।
रकम भुक्तानीका लागि क्रेडिट कार्ड, एटिएमबाट कारोबार गर्ने मेसिन नबिलले नै पहिलो पटक सुरु गरेको हो । ग्राहकले अनलाइनमार्फत नै खाता खोल्न सक्ने व्यवस्था पनि नबिलले नै गरेको हो ।
जुनसुकै एटिएम काउन्टरबाट पैसा झिक्न मिल्ने व्यवस्था पनि नबिलले नै सुरु गरेको हो । त्यसअघि एउटा शाखाको खाता रहेको एटिएम त्यही शाखामा रहेको एटिएम काउन्टरबाट मात्र पैसा झिक्न मिल्थ्यो । मोबाइल बैंकिङको एप पनि नबिलले नै सुरु गरेको हो ।
नबिलले आफूलाई प्रविधिमा उन्नत बनाउन आफ्ना सम्पूर्ण सेवाहरू डिजिटलमा रूपान्तरण गर्दै लगेको छ । ग्राहकहरूले आफ्ना खाता सञ्चालनका लागि बैंकका शाखा धाउनुपर्ने बाध्यता अन्त्य गर्दै रकम झिक्न र राख्नसमेत घरमै बसिबसी मोबाइल, ल्यापटपमार्फत ग्राहक आफैंले गर्न सक्ने वातावरण मिलाइएको छ ।
यसका अलावा बैंकले मेसिनमार्फत चेक डिपोजिटको व्यवस्था पनि सञ्चालनमा ल्याइसकेको छ । नबिल बैंकमा ग्राहकहरूले आफ्नो स्मार्ट फोनमार्फत कल गरेकै भरमा पनि कर्जा पाउने व्यवस्था समेत बैंकले ल्याइसकेको छ ।
बैंकको बारेमा
हाल नबिल बैंकको अध्यक्ष उपेन्द्रप्रसाद पौडेल रहेका छन् भने प्रमुख कार्यकारी अधिकृत (सीईओ)ज्ञानेन्द्र प्रसाद ढुंगाना रहेका छन् । त्यसै गरी, देशभर बैंकको २६८ वटा शाखा रहेका छन् भने, २२ एक्सटेन्सन काउन्टर, र ३१६ एटिएम रहेको छ । हाल यस बैंकबाट २२ लाखभन्दा बढी ग्राहकहरूले सेवा लिइरहेको बैंकले जनाएको छ ।
बैंकको वित्तीय अवस्था
हाल नबिल बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ७० लाख रुपैयाँभन्दा रहेको छ भने कुल पुँजी ५६ अर्ब ३८ करोड ४६ लाख रुपैयाँ रहेको छ । गत चैत मसान्तसम्मको तथ्यअनुसार बैंकले ग्राहकबाट ४ खर्ब ४० अर्ब ४३ करोड ६४ लाख रुपैयाँ निक्षेप परिचालन गरी ३ खर्ब ६८ अर्ब ७५ करोड ६६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा बैंकले ४ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत चैतसम्म बैंकको खुद ब्याज आम्दानी १२ अर्ब ५५ करोड रुपैयाँ गरेको छ । बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ २४ पैसा रहेको छ ।
चैत मसान्तको विवरणअनुसार बैंकको कुल कर्जामा कुल निष्क्रिय कर्जाको अनुपात ४.०४ प्रतिशत र खुद निष्क्रिय कर्जाको अनुपात १.२७ प्रतिशत रहेको छ । यस अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ २ सय ८ रुपैयाँ ३९ पैसा रहेको छ ।
२०८० चैत मसान्तको कारोबार मूल्यका आधारमा दोस्रो बजारमा प्राइन अर्निङ (पीई) रेसियो १८.८५ रहेको छ ।
Facebook Comment
Comment