सिमलतालमा दुई बस खसेको घटना :

आफन्त भन्छन्- परिवारमा खुसी हरायो, सबै यात्रु सकुशल रहेको सुखद् खबरको प्रतिक्षामा छौँ

नेपालभ्युज

वीरगञ्ज । पर्साको वीरगञ्जबाट काठमाडौं जाँदै गरेको रात्रिबस भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकै पहिरोमा बेपत्ता भएपछि यहाँ रहेका आफन्त तथा परिवारजन चिन्तामा छन् ।

बिहीबार राति ८ बजे छुटेको एञ्जल यातायातको प्रदेश ३ ०१–०० ख १५१६ नम्बर बसमा चालकसहित २४ जना रहेका थिए ।

स्थानीय दशै पण्डितले आफ्नो काका प्रमानन्द पण्डित सोही बसमा सवार रहेकामा बिहीबार रातिदेखि सम्पर्कविहीन हुँदा परिवारजन चिन्तामा परेको बताए ।

“हिजो रात्रिबस चढेर काठमाडौं जाँदै हुनुहुन्थ्यो, एक्कासी उहाँ चढेको बस पहिरामा हराइरहेको सुनियो, त्यसयता परिवारमा खुसी हराएको छ”, बसपार्कमा भेट्टिएका उनले भने, “काकासहित बस सवार सबै यात्रु सकुशल रहेको सुखद् खबरको प्रतिक्षामा छौँ ।”

एञ्जल डिलक्स प्रालीका वीरगञ्जका इञ्चार्ज विनोदप्रसाद कलवारले बिहीबार काठमाडौं प्रस्थान गरेको प्रदेश बसमा चालकसहित २४ जना रहेको बताए । “बसको चलानमा चालक, सहचालक र सहयोगीसहित २४ जना रहेका छन् । हिजो हाँसीखुसी बिदाइ गरेका थियौँ तर, पहिरामा परेको सुन्दा निकै दुःखित भएका छौँ” उनले भने ।

कलावारकाअनुसार बसमा १७ नेपाली र सात भारतीय नागरिक रहेका थिए । बस चालक जवाहीर महतो, सहचालक चौधरी थरका एक युवक र अर्को राजकुमार लामिछाने रहेका थिए ।

बसको चलानीमा पिपराका प्रकाश पटेल, वीरगञ्ज महानगरपालिकाका अरविन्द दुबे, वीरगञ्ज महानगरका हरेन्द्र पण्डित, बारा मुरहरवाका प्रमानन्द पण्डित, पर्साकै विद्यानारायण राउत, रघुनाथपुरका सलिम मियाँ, कटैयाका रैफुल आलम र रामनगरीका थर नखुलेका सुजित भनिने व्यक्ति सवार थिए ।

भारतीय नागरिकमा सन्तोषकुमार ठाकुर, अन्सारी जि, सुरेन्द्र साह, सुनिल साह र शहनावाज रहेका छन् । अन्सारीका नाममा दुई वटा टिकट काटिएकाले अर्का यात्रुको पहिचान खुलेको छैन ।

आज बिहान नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुई वटा बस त्रिशूली नदीमा बेपत्ता भएका थिए ।

बिहान ३ः३० बजे काठमाडौंबाट रौतहटको गौर आउँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका हुन् । गौर आउँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका प्रहरीले जनाएको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved