काठमाडौं । आइतबार सरिता लामा (परिवर्तित नाम)ले महालक्ष्मी विकास बैंकबाट आमालाई इसेवामा पैसा पठाइन् । उनले बैंकबाट ११ः०२ मा आमाको इसेवा आइडीमा २७ हजार रुपैयाँ पठाइन् । सरिताको खाताबाट एकैछिनमा वीथड्र (रकम काटिएको जानकारीसहित) एसएमएस बैंकले पठायो ।
सरिताको बैंक खातामा पैसा कट्यो । तर, उनको आमाको इसेवा आइडीमा पैसा आएन । मोबाइल बैंकिङ प्रयोगकर्ता रहेकी उनी इसेवा एप चलाउँदिन थिइन् । योभन्दा अगाडि पनि थुप्रै अनलाइन कारोबार गरिसकेकी उनले इसेवासँग पहिलो पटक कारोबार गरेको बताइन् ।
“मामूलाई मैले धेरैपटक बैंकमा खाता खोलेर मोबाइल बैंकिङ चलाउनुस्, पैसाको कारोबार जुनसुकैबाट गर्न हुँदैन भन्थेँ तर, पनि ममी मान्नुहुन्नथ्यो । यही सजिलो छ भन्नुहुन्थ्यो । आज पैसा नै अड्कियो,” निराश हुँदै उनी सुनाइन् ।
इसेवामा सम्पर्क गर्दा…
केहीबेरमा रकम आउने सोचेर पर्खेर बस्दा पनि पैसा आएन । उनले इसेवामा सम्पर्क गरिन् । उनीले सुनाइन्, “इसेवामा फोन गर्दा मेरो अकाउन्ट नम्बर, इसेवा आइडी, नामहरू सोधियो । दिएँ । अनि एकैछिनमा उताबाट फोन आयो । तर, ४८ घण्टामा मात्र पैसा फिर्ता आउँछ भनियो ।”
उनले अर्कोदिन सोमबार दिउँसो फेरि इसेवामा फोन गरिन् । उताबाट जवाफ आयो, “बैंकले रेस्पोन्स नै गरेको छैन । हामीले फेरि रिसेन्ड गरेका छौँ । भोलि अफिस आवरसम्ममा तपाईंले पैसा फिर्ता पाउनुहुन्छ ।”
“इसेवामा तीन दिनसम्म पैसा अड्किएको कारण मलाई धेरै तनाव भयो,” उनी थप्छिन्, “के कामको लागि पठाएको पैसा कता अड्कियो ।”
***
डेढ महिनाअघि अनुपा सिटौलाको फेसबूक ह्याक भयो । उनको मेसेन्जर प्रयोग गरेर ह्याकरले आफ्नो इसेवा एकाउन्टमा पैसा माग्यो । अनुपाकै एक साथीसँग पैसा मागिएपछि थाहा भयो, त्यो इसेवा आइडी ह्याकरले प्रयोग गर्ने रहेछ !
अनुपाले उजुरी लिएर प्रहरीको साइबर ब्यूरो गइन् । प्रहरीले इसेवासँग सम्पर्क गर्दा थाहा भयो, केही समयअघि ८० हजार रुपैयाँ त्यो आइडीमा गइसकेको रहेछ ।
पछि थाहा भयो, त्यो रकम अनुपाकै साथीहरूले ह्याकरको विश्वासमा पठाइदिएका रहेछन् । त्यसपछि अनुपाले साइबर ब्यूरोमा उजुरी गरेर रकम सम्बन्धित एकाउन्टमै फिर्ता गराउने पहल थालिन् ।
साइबर ब्यूरोले इसेवालाई पत्र लेख्दै त्यो इसेवा आइडीको खाता रोक्न भन्यो । र, पैसा सम्बन्धित एकाउन्टमै फिर्ता गर्न भन्यो । इसेवाले सो खाता त रोक्यो तर, पैसा फिर्ता गरेन । अनुपाले दैनिक इसेवामा फोन गर्थिन् । तर, भोलि-भोलि भन्दै इसेवाका प्रतिनिधिले टारिरहन्थे । अन्ततः ८० हजार रुपैयाँ फिर्ता हुन झन्डै महिना दिन लाग्यो ।
साधारणतया प्राविधिक समस्यामा पैसा फिर्ता हुन ४८ घण्टा लाग्ने राष्ट्र बैंककै नियम भए पनि यहाँ त्यो नियम लागू भएन ।
***
यी प्रतिनिधिमूलक घटना मात्र हो । योभन्दा पहिला पनि इसेवामा रकम लोड गर्दा अड्किएको घटना हामीले सुन्दै आइरहेकै हौँ ।
रकम लोड गर्दा मात्र होइन, एअरलाइन्सको टिकट काट्दा, होटेल बुकिङ गर्दालगायत अनलाइन कारोबार गर्दा इसेवामा पैसा अड्किएको घटनाहरू प्रशस्तै छन् ।
इसेवामा किन अड्किन्छ ग्राहकको पैसा ?
इसेवामा सम्पर्क गरेर पैसा अड्किने कारण सोध्दा कहिलेकाहीँ सिस्टमले सर्पोट नगर्ने कर्मचारी बिजय राई बताउँछन् । ‘सधैँ यस्तो घटना त हुँदैन, कहिलेकाहीँ प्राविधिक गडबडीका कारण यस्ता समस्याहरू आइपर्छन् । त्यै नि अड्किएको रकम ४८ घण्टामा फिर्ता हुन्छ ।’
रकम फिर्ता गर्न तीन दिनको समय लाग्नुको कारण सोध्दा बिजय भन्छन्, ‘हामीले कहाँबाट पठाएको, कसलाई पठाएको र कुन बैंकमार्फत् पठाएको लगायतका जानकारीहरू खोजेर सम्बन्धित बैंकसंग भेरिफिकेसन र आवश्यक जानकारी लिनु पर्ने भएकाले समय लाग्छ ।’
इसेवाले रकम पठाएको खाता नम्बर भएको बैंकसँग सम्पर्क गरेर पत्राचार गर्छ । कहिलेकाहीँ बैंकले अटेरी गर्दा पनि सो भेरिफिकेसनका लागि समय लाग्ने राईको भनाइ छ ।
राष्ट्र बैंकको नीति अव्यावहारिक
इसेवा राष्ट्र बैंकबाट लाइसेन्स प्राप्त डिजिटल वालेट हो । राष्ट्र बैंकले २०८० मङ्सिरमा एकीकृत निर्देशन जारी गर्दै मोबाइल बैंकिङ, खाता डेबिट र डिजिटल वालेटहरूमा अड्किएको रकम तीन दिनभित्र फिर्ता गर्नु भनी नीति बताएको छ । सो विषयबारे प्रश्न गर्दा राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट भन्छन्, ‘यो विषयमा मलाई भन्दा पनि प्राविधिक विज्ञलाई सोध्नुहोस् ।’
तीन दिनसम्म ग्राहकले आफ्नो अड्किएको पैसा पर्खेर बस्नुपर्ने बाध्यता छ । बैंकसँग भेरिफिकेसनको लागि लाग्ने समय तीन दिन राखिनु त्यति व्यवाहारिक नदेखिने विज्ञ बताउँछन् ।
बैंक तथा वित्तीय संस्था तथा डिजिटल वालेटहरूमा अड्किएको रकमको क्वीक रेस्पोन्स, भेरिफिकेसन र कार्यान्वयन भए ग्राहक लाभान्वित हुने देखिन्छ । इसेवाको खराब सिस्टमको मारमा ग्राहक बनिरहेका छन् । हालसम्म इसेवा प्रयोगकर्ता करिब ८० लाखको हाराहारीमा पुगिसकेको कम्पनीको दाबी छ ।
निःशुल्क लगइन गर्न मिल्ने र धेरै झन्झट पनि नहुने भएकाले पछिल्लो समय इसेवाको साख बढ्दो छ । तर, डिजिटल वालेटप्रति मानिसको आकर्षण बढ्दै गइरहेको बेला यस्ता समस्याले एक प्रकारको डर पैदा भएको छ ।
Facebook Comment
Comment