काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठविरुद्ध राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको छ । नेपाली नागरिकतासँगै पोल्याण्डको पीआर लिएको भन्दै उजुरी परेको हो ।
उजुरीका आधारमा सतर्कता केन्द्रले मन्त्री श्रेष्ठलाई पत्र पठाई यथार्थ जानकारी माग गरेको छ ।
तर, श्रेष्ठले आफू नेपालको नागरिक रहेको बताएकी छन् । ‘म नेपालको नागरिक हुँ, कुनै अन्य देशको पी आर वा नागरिकता लिएकी छैन।’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।
श्रीमान् पोल्याण्डका नागरिक भएपनि आफूले त्यहाँको पीआर नलिएको उनले प्रष्ट पारेकी छन् ।
‘म जति दिन मन्त्री भएको छु, त्योभन्दा पनि कम समय पोल्याण्ड बसेकी छु । पोल्याण्डमा निश्चित मापदण्ड पुरा गरेपछि मात्रै त्यहाँको पीआर पाइने रहेछ ।’ उनले भनिन्, ‘मैले २० वटा जति देश भ्रमण गरेको छु । कुनै देशको पनि ग्रिन कार्ड तथा पीआर समेत लिएको छैन ।’
उनले थप भनेकी छन्, ‘ट्याबलोइड सञ्चारमाध्यममा सीमित रहँदासम्म जवाफ दिन जरुरी ठानिन तर, राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेकोले जवाफ दिएकी छु । आरोप आफैँमा अस्पष्ट छ, कुन देशको पीआर वा नागरिकता भनेर पनि खुलाइएको छैन र पूर्णतः निराधार छ, तर छानबिनमा पूरा सहयोग गर्नेछु ।’
Facebook Comment
Comment