काठमाडौं । काठमाडौं नगरसभाको १५ औँ अधिवेशनमा नगरसभा सदस्यहरूले मेयर बालेन्द्र साहलाई अरूको पनि सम्मान गर्न सुझाव दिँदै महानगरको गरिमा कमजोर भएको भन्दै ध्यानाकर्षण गराएका छन् ।
मंगलबारको नगरसभा अधिवेशनमा मेयरले दिएको समयमा बोल्दै नगरसभा सदस्यहरूले फेसबुकमा गाली गलौच गरेर मेयरको हैसियत नबढ्ने भन्दै सुझाव दिइन् ।
फेसबुकबाटै स्थगन भएको नगरसभा बैठकमा सदस्य शर्मिला परियारले नगरसभा स्थगन र सञ्चालन ‘फेसबुकबाटै गर्ने हो अबदेखि’ भनेर प्रश्न गरिन् ।
उनले सामाजिक सञ्जालबाटै नगरसभा चलाउन लागेको हो कि भनेर मेयरलाई प्रश्न गरेकी हुन् ।
उनले नेताहरूलाई विना प्रमाण सामाजिक सञ्जालबाट गालीगलौज गर्दा महानगरकै गरिमा कमजोर बनिरहेको भन्दै ध्यानाकर्षण गराइन् ।
उनले भनिन्, ‘‘विना प्रमाण कसैलाई गालीगलौज गर्नुअघि म कुन हैसियतमा छु भन्ने पनि बुझ्नुपर्छ । प्रमुखज्यू, तपाईँले आफू राम्रो देखिनका लागि अरूलाई नराम्रो देखाउन पर्दैन । नगरसभाको गरिमा अरूलाई गालीगलौज गरेर, सामाजिक सञ्जालबाट आरोप लगाएर बढ्ने पनि होइन । सम्मानित नेताहरूलाई गाली गरेर तपाईंको हैसियत बढ्दैन ।’’
पछिल्लो समय मेयर शाहले फेसबुकबाटै नेपाली कांग्रेस र एमालेमाथि आरोपित गर्दै नगरसभा स्थगित गरेका थिए । उनले लगातार एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि आरोप लगाइरहेका छन् । ती विषयमा नगरसभा सदस्यले आपत्ति जनाउँदै मर्यादाको ख्याल राख्न आग्रह गरे ।
Facebook Comment
Comment