काठमाडौं । भारतीय क्रिकेट टोलीका ब्याट्सम्यान विराट कोहलीको सह-स्वामित्वमा रहेको वन ८ कम्युन रेस्टुरेन्टविरूद्ध एफआईआर दर्ता भएको छ ।
बेंगलुरूस्थित एमजी रोडमा रहेको उक्त रेस्टुरेन्टविरूद्ध कब्बन पार्क पुलिस स्टेशनमा एफआईआर दर्ता भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
चर्को स्वरमा गीत बजाएको गुनासो प्रहरीमा आएपछि रेस्टुरेन्टका प्रबन्धकहरूविरूद्ध एफआईआर दर्ता गरिएको प्रहरीले जनाएको छ ।
६ जुलाई राति कब्बन पार्क प्रहरीले कर्नाटक सरकारले तोकेको नियम उल्लङ्घन गर्ने रेस्टुरेन्ट, बार र पबहरूविरूद्ध विशेष अभियान चलाएको थियो ।
तोकिएको सीमाभन्दा बढी ग्राहकलाई अनुमति दिएको भन्दै कस्तुरवा रोडमा रहेको वन८ कम्युन, चर्च स्ट्रीटमा रहेको एम्पायर रेस्टुरेन्ट र ब्रिगेड रोडमा रहेको पाङ्गियो बार एन्ड रेष्टुरेन्टका सञ्चालकविरूद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।
पुलिसका अनुसार कोहलीको सह-स्वामित्व वन ८ कम्युनविरूद्ध नियम उल्लङ्घन गरेकोमा सम्बन्धित धाराहरू अन्तर्गत एफआईआर पनि दर्ता गरिएको छ ।
वन ८ कम्युनमा पनि, ग्राहकहरूलाई तोकिएको सीमाभन्दा माथि अनुमति दिइएको थियो ।
कोहलीको उद्यम वन ८ कम्युन दिल्ली, मुम्बई, पुणे र कोलकाता सहरहरूमा पनि अवस्थित छ । बेंगलुरूमा आधारित वन ८ कम्युन रेस्टुरेन्ट डिसेम्बर २०२३ मा बेंगलुरूमा सुरु भएको थियो । यो रेस्टुरेन्ट कस्तुरबा रोडमा रहेको रत्नम कम्प्लेक्सको छैठौं तलामा रहेको छ ।
Facebook Comment
Comment