नि:शुल्क खाना र खाजासहित एसइई पुरक परीक्षाको तयारी कक्षा सुरु

नेपालभ्युज

नि:शुल्क खाना र खाजासहित एसइई पुरक परीक्षाको तयारी कक्षा सुरु

काठमाडौं । काठमाडौँ महानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजामा नन ग्रेडेड समूहमा परेका विद्यार्थीलाई निःशुल्क खाना र खाजासहित तयारी कक्षा सञ्चालन सुरु गरेको छ ।

महानगरपालिकाले आफूमातहतका सामुदायिक विद्यालयका शिक्षकलाई परिचालन गरेर सोमबारदेखि तयारी कक्षा सुरु गरेको हो । परीक्षा तयारीमा बसेका विद्यार्थीलाई महानगरपालिकाले खाना र खाजाका लागि पैसा  दिने बताएको छ ।

महानगरपालिकाले सयजना शिक्षकको रोस्टर बनाएर कक्षा सञ्चालन सुरु गरेको हो ।

११ वटा स्रोत केन्द्रमा दैनिक करिब ७० वटा कक्षा चल्ने महानगरपालिकाले जनाएको छ । ग्रेडवृद्धि परीक्षा तयारी कक्षामा ८ सय ७३ विद्यार्थी सहभागी हुने महानगरपालिकाका शिक्षा अधिकारी गोविन्द शर्माले बताए ।

महानगरपालिकाभित्रका ५८ वटा सामुदायिक विद्यालयबाट एसइईमा तीन हजार ९५९ जना विद्यार्थी सहभागी भएका थिए । जसमध्ये तीन हजार ८६ जना ग्रेडेड समूहमा परेका थिए ।

सबैभन्दा धेरै ४५९ जना विद्यार्थी गणित विषयमा अनुत्तीर्ण भएका छन् । त्यसपछि अर्थशास्त्रमा २१९ जना, विज्ञानमा २६६ जना, सामाजिकमा १८९ जना, नेपालीमा ११६ जना अनुत्तीर्ण भएका छन् । अंग्रेजीमा ९१ जना, लेखामा ७० जना, ऐच्छिक गणितमा ५८ जना, कम्प्युटरमा २० जना, जनसंख्यामा आठ जना अनुत्तीर्ण भएको महानगरपालिकाको तथ्यांकमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved