काठमाडौं । निरन्तरको वर्षापछिको बाढीपहिरोका कारण मुलुकका विभिन्न १९ ठाउँमा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । सोमबार साँझ ६ बजेसम्मको विवरणअनुसार अवरुद्ध रहेका १४ स्थानका सडक खण्ड भने एकतर्फी रुपमा सञ्चालनमा आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सोमबार साँझ सार्वजनिक गरिएको विवरण अनुसार कालिकोटको कर्णाली राजमार्ग, सुर्खेतको मदन भण्डारी राजमार्ग, सिमकोट हुम्लाबाट नाम्खा जानेबाटो, जाजरकोट सडकखण्ड, कर्णाली करिडोर, सुर्खेत–दैलेख सडकखण्ड, कञ्चनपुरस्थित पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा बन्द छ ।
यस्तै रोल्पाको सहिद राजमार्ग, रिडि–बाग्लुङ सडकखण्ड, स्याउलीवास–बाग्दुम्ला, चामे–बेँसीशहरलगायतका सडकखण्ड अवरुद्ध रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै संखुवासभाको कोशी राजमार्ग पनि बन्द नै रहेको जनाइएको छ ।
पहिराका कारण अवरुद्ध म्याग्दीको बेनी–दरबाङ सडक तीन दिनपछि सञ्चालनमा आएको छ । अन्य विभिन्न जिल्लाका १४ स्थानमा पूर्ण रुपमा अवरुद्ध रहेकामा एकतर्फी सञ्चालन गरिएको प्रहरी प्रधान कार्यालयले सोमबार साँझ विवरण सार्वजनिक गरेको छ । प्रहरीका अनुसार विभिन्न २७ जिल्लाका सडकमा विपद्बाट प्रत्यक्ष असर पुगेको छ ।


Facebook Comment
Comment