काठमाडौं । उपसभामुख इन्दिरा राना चीनको औपचारिक भ्रमण पूरा गरी स्वदेश फिर्ता भएकी छन् । सोमबार दिउँसो उनी स्वदेश फर्किएकी हुन् ।
तिब्बतमा आयोजित चौथो चाइना सिजाङ ट्रान्स–हिमालयन फोरममा भाग लिन उपसभामुख रानाको भ्रमण टोली असार १८ गते त्यसतर्फ प्रस्थान गरेको थियो ।
भ्रमण टोलीमा प्रतिनिधि सभाका सदस्य माननीय सुहाङ नेम्वाङ तथा उपसभामुखका स्वकिय सचिव कुमार नेपालीसमेत सहभागि थिए ।
भ्रमणका क्रममा उपसभामुख रानाले असार २० गते उक्त फोरमलाई सम्बोधन गरेकी थिइन् ।
उनले सम्बोधनका क्रममा चीन र नेपाल, दक्षिण एसिया, दक्षिण पूर्व एसिया र मध्य एसियाका अन्य देशहरू बीचको सम्पर्क विस्तारका लागि ट्रान्स–हिमालयन प्लेटफर्मको महत्व रहेको धारणा राखेकी थिइन् ।
साथै, भ्रमण टोलीले धार्मिक तथा पर्यटकीय क्षेत्र मानसरोवर र कैलाश पर्वत, पोताला दरबार लगायतका धार्मिक, साँस्कृतिक तथा पर्यटकीय स्थलहरूको अवलोकन भ्रमण गरेको थियो ।
Facebook Comment
Comment