काठमाडौं । मधेस प्रदेशमा जनमत पार्टीकै सरकारले निरन्तरता पाउने भएको छ ।
केन्द्रमा नेकपा (एमाले) र नेपाली कांग्रेसले नयाँ सत्ता समीकरण बनाएसँगै अन्य ६ प्रदेशमा भने त्यहीअनुसारका सरकारहरू बन्ने भएका छन् । त्यसमा एमाले-कांग्रेसबीच ३/३ वटा बाँड्ने सहमतिसमेत भइसकेको छ ।
मधेसमा भने अहिले जनमतकै सरकार छ । उक्त सरकारले निरन्तरता पाउने जनमतका उपाध्यक्ष अब्दुल खानले नेपालभ्युजलाई बताए । उनको दाबी छ कि त्यहाँ प्राय: सबै दलले समर्थन जनाउने छन् ।
जनमत नयाँ सत्ता समीकरणमै मिसिने र सरकारलाई निरन्तरता दिने तयारीमा रहेको खान बताउँछन् । “त्यहाँ केहीबाहेक प्राय: दलको समर्थन जुट्ने सम्भावना छ,” खानले भने, “एमालेले समर्थन जनाउने भनिसकेको छ । अरु दलहरूले पनि समर्थन जनाउलान् ।”
यसअघि एमाले, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को समर्थनमा जनमतका सतिशकुमार सिंह मुख्यमन्त्री बनेका थिए । केन्द्रमा समीकरण फेरिएसँगै सरकार समर्थित दलहरू फेरिने भएका छन् ।
एमालेले मुख्यमन्त्री सिंहलाई आफ्नो समर्थन रहने बताइसकेको छ । एमाले दलका नेता सरोज यादवले भने, “हाम्रो पार्टीले यही सरकारलाई निरन्तरता दिन्छ । विश्वासको मत दिन्छौँ ।”
मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिँदैछन् । उनको पक्षमा बहुमत जुट्ने निश्चितप्राय: देखिन्छ ।
यता केन्द्रमा एमालेसँगै उभिएको कांग्रेस पनि छलफलमा जुटेको छ । मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे आजै छलफल गरेर निष्कर्षमा पुग्ने कांग्रेस दलका नेता कृष्ण यादवले बताए ।
यता माओवादी केन्द्र, एकीकृत समाजवादीको पनि मत पाउने सम्भावना उच्च रहेको मुख्यमन्त्री सिंहले बताएका छन् । यद्यपि उनीहरूले सरकारबाट बाहिरिने तयारी गरिरहेको कतिपय नेताहरूले बताएका छन् ।
मुख्यमन्त्री सिंहले भने उनीहरूले पनि समर्थन जनाउने दाबी गरेका छन् । एक अन्तर्वार्ताका क्रममा उनले भनेका छन्, “बहुमत मात्रै होइन, बढी मत पाउँछु । जसपा, नेपालबाहेक सबै दलले समर्थन गर्ने सम्भावना छ ।”
Facebook Comment
Comment