काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परिस्थितिमा उतारचढावजस्तो देखिए पनि सरकारले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने बताएका छन् ।
शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मनसुनजन्य जोखिमको न्यूनिकरण तथा जोखिम प्रतिकार्यसम्बन्धी उच्चस्तरीय बैठकमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।
सो क्रममा प्रधानमन्त्रीले नेपाल प्राकृतिक विपत्तिको उच्च जोखिमयुक्त देश भएकाले तीनवटै सुरक्षा अंगहरूको समन्वयात्मक पहलमा विपद् व्यवस्थापनको पूर्वतयारीको व्यवस्थित काम गर्न निर्देशन दिए ।
उनले भने, ‘यस वर्ष मौसम आक्रमक हुने पूर्वानुमान छ । त्यसैले व्यवस्थित पूर्वतयारी गरौं । विपद् व्यवस्थापनमा हामीसँग पैसा पनि छ । तर, कार्यविधिको झण्झटले पैसा परिचालन गर्न नसकेको कुरा बोध गर्दै यसलाई सहज परिचालन गर्न सकिने गरी परिमार्जन गरौं । राज्यका सबै निकायहरूको सम्पूर्ण ध्यान पूर्वतयारी र जोखिम न्यूनिकरणमा केन्द्रित गरौं ।’
छलफलमा गृह मन्त्रालय र नेपाली सेनाको तर्फबाट गरिएको पूर्वतयारीका लागि आभार प्रकट गरिएको थियो ।
Facebook Comment
Comment