को हुन् बेलायतका भावी प्रधानमन्त्री स्टार्मर ?

नेपालभ्युज

को हुन् बेलायतका भावी प्रधानमन्त्री स्टार्मर ?

काठमाडौं । सर कैर स्टार्मरको पार्टी बेलायती चुनावमा ठूलो जिततर्फ लागेको छ । १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्किने निश्चित भएको छ र त्यो पनि ऐतिहासिक विजयका साथ ।

लेबर पार्टीले हालसम्म ३९१ सिट जितेको छ भने ऋषि सुनकको नेतृत्वमा रहेको कन्जरभेटिभ पार्टीले अहिलेसम्म १ सय १ सिट मात्र जित्न सकेको छ । बेलायतमा ६५० सिटमध्ये सरकार बनाउन ३२६ सिटको सङ्ख्या पार गर्नुपर्ने हुन्छ । अर्थात् लेबर पार्टीले बहुमत ल्याएको छ ।

एक्जिट पोलका अनुसार लेबर पार्टीले ४१० सिट जित्न सक्छ भने कन्जरभेटिभ पार्टीले १३१ सिटमा सीमित हुन सक्छ । यस्तो अवस्थामा कन्जरभेटिभ पार्टीको यो अहिलेसम्मकै ठूलो हार हुनेछ ।

चुनावी नतिजा हेर्दा सन् २०१० पछि लेबर पार्टी सत्तामा आएको हो । लेबर पार्टीले ४१० सिट जित्यो भने सन् १९९७ मा टोनी ब्लेयरपछि लेबर पार्टीको यो सबैभन्दा ठूलो जित हुनेछ ।

अहिलेसम्मको अवस्था हेर्दा स्टार्मर भावी प्रधानमन्त्री बन्ने लगभग निश्चितै भैसकेको छ ।

लेबर पार्टीलाई ऐतिहासिक जित दिलाउने स्टार्मर को हुन् ?

६१ वर्षका स्टार्मर अब बेलायतको ५८औं प्रधानमन्त्री बन्ने छन् । उनको व्यक्तित्व सुनकको भन्दा विपरित छ । सुनक एक भारतीय मुलका बेलायती हुन्, जो आफूलाई धार्मिक रूपमा वर्णन गर्छन् । तर, स्टाररले भगवानमा विश्वास गर्दैनन् । उनी सुनकजस्तो अर्बपति पनि होइनन् ।

उनी बेलायतको यो पुस्ताका नेतामध्ये सबैभन्दा गरिब परिवारका सन्तान हुन् भने अर्कोतिर सन् १९५० को दशकपछि प्रधानमन्त्री बन्नुअघि नै राजपरिवारबाट ‘सर’को उपाधि पाउने पहिलो नेता पनि हुन् ।

उनी शाकाहारी हुन् र आफूलाई समाजवादी भन्न रूचाउँछन् । तर, थुप्रै वामपन्थीहरू उनलाई घृणा गर्छन् र सत्ताका लागि दक्षिणपन्थतिर ढल्केको आरोप लगाउँछन् ।

मित्रहरू उनलाई मिलनसार र खरो फुटबलप्रेमी भन्छन् । तर, सार्वजनिक रूपमा उनी अररो र तेजहीन देखिन्छन् ।

उनी प्रगतिशील मूल्यहरूलाई व्यावहारिक यथार्थसँग मिसाउन खप्पिस छन् । तर, अराजनीतिक र अस्थिर मान्छे भनेर आलोचनाको केन्द्र पनि बन्ने गरेका छन् ।

अफ्रिकामा कानुन अध्ययन र काम

सन् २०१५ देखि स्टार्मरको संसदीय निर्वाचन क्षेत्र होबर्न र सेन्ट प्यानक्रस हो । स्टार्मरले आफूलाई ‘कामदार वर्गको पृष्ठभूमि’को रूपमा वर्णन गर्दछन् ।

उनका बुबा एक उपकरण निर्माता थिए भने आमा नर्स थिइन् । उनकी आमालाई एक दुर्लभ अटोइम्यून रोग थियो ।

स्टार्मरले धेरै अन्तर्वार्तामा आफ्नो पितासँगको सम्बन्ध राम्रो नभएको बताएका छन् । आफ्नो बुबा रिसाउने र चिडचिडा स्वभावको रहेको उनी बताउँछन् । उनको भावनात्मक लगाव केवल उनकी आमा जोसेफिनसँग थियो।

स्टार्मरले रेगेट व्याकरण विद्यालयमा अध्ययन गरे । भर्ना भएको दुई वर्षपछि उक्त विद्यालय निजी बन्यो ।

१६ वर्षको उमेरसम्म उनको पारिश्रमिक स्थानीय काउन्सिलले तिरेको थियो । स्कूलपछि उनी विश्वविद्यालयमा जाने र लीड्स विश्वविद्यालयमा भर्ना हुने आफ्नो परिवारको पहिलो सदस्य बने । पछि उनले अक्सफोर्ड विश्वविद्यालयमा कानुन पढे ।

पढाइ, खेलकुद र सङ्गीतमा उत्कृष्ट प्रदर्शन गरेका कारण उनका दाजुभाइ दिदीबहिनीले उनलाई व्याकरण विद्यालयको सुपरब्वाई भनेर बोलाउने गर्थे ।

उनी सन् १९८७ मा ब्यारिस्टर भए र मानव अधिकार कानुनमा विशेषज्ञको रूपमा काम गरे । आफ्नो कामको सम्बन्धमा उनी क्यारिबियन र अफ्रिकामा बस्थे, जहाँ उनले मृत्युदण्डको सामना गरिरहेका कैदीहरूको मुद्दा लडे ।

९० को दशकको उत्तरार्धमा उनले तथाकथित म्याकलिबेल कामदारहरूको मुद्दा सित्तैमा लडेका थिए ।

सन् १९९७ मा म्याकडोनाल्ड्स कर्पोरेशन बनाम स्टिल र मोरिसको मामला ‘McLibel मामला’को रूपमा चिनिन्छ ।

यसमा म्याकडोनाल्ड्स कर्पोरेशनले कम्पनीको आलोचना गर्ने वातावरणीय कार्यकर्ताहरूविरूद्ध मानहानीको मुद्दा दायर गरेको थियो । यी कार्यकर्ताहरूले म्याकडोनाल्ड्स कम्पनीको वातावरणीय दावीमा प्रश्न उठाउने पर्चा बाँडेका थिए ।

सन् २००८ मा स्टार्मर सार्वजनिक अभियोजनको निर्देशक चुनिए । जुन इङ्गल्याण्ड र वेल्समा सबैभन्दा वरिष्ठ आपराधिक अभियोजकको पद हो ।

राजनीतिक जिवन

सन् २०१५ मा उनी उत्तरी लन्डनको होबर्न र सेन्ट प्यानक्रसका लागि सांसद बने । उनले पूर्व लेबर नेता जेरेमी कोर्बिनको फ्रन्टबेन्च टोलीमा ब्रेक्सिट सचिवको रूपमा सेवा गरे, जहाँ उनले दोस्रो ब्रेक्सिट चुनावलाई विचार गर्न आह्वान गरे ।

ब्रेक्सिट भनेको बेलायतलाई युरोपेली संघबाट अलग गर्ने प्रक्रिया थियो ।

सन् २०१९ को आम चुनावमा पार्टीको ठूलो पराजयपछि स्टार्मर लेबर नेताको पदमा चुनाव लडे र सन् २०२० मा पार्टीको नेता बने । आफ्नो विजयपछिको भाषणमा उनले लेबरलाई ‘आत्मविश्वास र आशाका साथ नयाँ युगमा लैजाने’ बताएका थिए ।

चुनावी वाचाहरू

स्वास्थ्य हेरचाह- एनएचएस, यूके स्वास्थ्य सेवामा बिरामीहरूको लागि प्रतीक्षा सूची घटाउने । एनएचएसले हरेक हप्ता ४०,००० भन्दा बढी अपोइन्टमेन्टहरू प्राप्त गर्ने । यो कर छली रोक्न र कर ‘लुप्फोल्स’ बन्द गरेर वित्त पोषित हुने,

अवैध आप्रवासी- साना र खतरनाक डुङ्गाबाट मानव बेचबिखन रोक्न सीमा सुरक्षा कमाण्ड सञ्चालन गरिने,

आवास- १५ लाख नयाँ घरहरू निर्माण गर्ने र पहिलो पटक घर खरीददारहरूलाई ‘पहिलो’अधिकार’ दिनको लागि योजना सुरु गर्ने,

शिक्षा- ६,५०० शिक्षक भर्ना गरी निजी विद्यालयले पाउने कर छुट रोकेर खर्च गरिने ।

लेबर पार्टीको अवस्था

सन् २०२३ देखि सञ्चालित सबै मतपरिणामको सर्वेक्षणमा लेबर पार्टी कन्जरभेटिभभन्दा २० प्रतिशत अगाडि देखिएको थियो ।

स्टार्मरले नेतृत्वको प्रारम्भिक वर्षहरूमा पार्टीको लोकप्रियता बढाउन धेरै कठिनाइहरूको सामना गरे ।

सन् २०२१ को उपनिर्वाचनमा लेबरको पराजयपछि उनको ध्यान रेड वाललाई जित्नेतर्फ थियो । रेड वाल भनेको उत्तरी इङ्गल्याण्ड र मिडल्याण्डका ती सिटहरू हुन्, जुन विगतमा लेबर सीटहरू थिए ।

तर, सन् २०१९ को चुनावमा कन्जरभेटिभ पार्टीले त्यहाँ जितेको थियो ।

स्टार्मरले पार्टीको नीतिहरूमा पुनर्विचार गरे र विश्वविद्यालयको शिक्षण शुल्क हटाउने र पानी र बिजुली कम्पनीहरूलाई राष्ट्रियकरण गर्ने वाचा त्याग्ने ।

सन् २०१९ को चुनावमा लेबरका २०५ उम्मेदवार विजयी भए ।

राजनीति छोडेर किताब बेच्ने चाहना

अङ्ग्रेजी पत्रिका टेलिग्राफका अनुसार सन् २०२१ मा हार्टलपूल उपचुनावमा पराजयपछि स्टार्मरले राजनीतिलाई अलविदा भन्न खोजेका थिए । त्यसपटकको चुनावमा पराजयले उनलाई निकै दुःखी बनाएको थियो ।

कन्जरभेटिभहरूबाट लेबर पार्टीका लागि सुरक्षित सिट मानिने हार्टलपूल गुमाएपछि स्टारमरले आफ्ना साथीहरूसँग राजनीति छोड्ने कुरा गरेका थिए । उनले साथीहरुलाई राजनीति छोडेर किताब पसलमा काम गर्न चाहेको बताएका थिए । -एजेन्सीको सहयोगमा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved