घनश्याम भुसाल : अध्यक्षमा आँट गर्लान् कि वरिष्ठ उपाध्यक्षमा थन्किएलान् ?

के गर्लान् झलनाथ खनाल ?

त्यसो त झलनाथ खनाल पनि पुन: माधवकुमार नेपाल दोहोरिऊन् भन्ने चाहँदैनन् । यस्तो अवस्थामा भुसालले खनालको पनि साथ पाउने निश्चितप्राय: छ ।

घनश्याम भुसाल : अध्यक्षमा आँट गर्लान् कि वरिष्ठ उपाध्यक्षमा थन्किएलान् ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को दशौं महाधिवेशन चलिरहेको छ । काठमाडौंको प्रज्ञा भवनमा चलिरहेको महाधिवेशनमा समूहगत छलफल सकिन लागेको छ ।

समूहगत छलफलपछि दस्तावेजहरू पारित गर्ने कार्यक्रम रहेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । त्यसपछि मात्रै निर्वाचन प्रक्रिया प्रारम्भ हुने उनले बताए ।

“अलिक लम्बिनेजस्तो देखिन्छ तर, ४ दिनभित्रै सक्ने प्रयास रहनेछ । दस्तावेजहरू पारित भएपछि मात्रै निर्वाचन प्रक्रिया सुरु हुन्छ,” उनले भने ।

एकीकृत समाजवादीको विधानमा २१ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति  बनाउने उल्लेख छ । त्यसबमोजिम निर्वाचन प्रक्रिया प्रारम्भ हुने खतिवडाले बताए ।

सबैको ध्यान भने पदाधिकारी र त्यसमा पनि अध्यक्ष को हुन्छ भन्नेमा छ । देशको ठूलो कम्युनिष्ट पार्टीबाट ठूलै नेताहरूले विद्रोह गरेर गठन भएको पार्टी तर, संसदीय निर्वाचनमार्फत राष्ट्रिय पार्टीसमेत नबनेकोले पनि हुनुपर्छ, पार्टीको अबको अध्यक्ष को हुन्छ भन्नेमा आमध्यान देखिन्छ ।

अध्यक्षमा खासगरी माधवकुमार नेपाल र घनश्याम भुसालले दाबी गरेका छन् । यसअघि झलनाथ खनाल पनि यही ‘क्यू’मा थिए तर, महाधिवेशन सुरु भएसँगै उनी त्यहाँबाट बाहिरिएको बताइन्छ । यसो हुँदा प्रतिस्पर्धा हुँदा पनि नेपाल र भुसालबीच नै हुने देखिन्छ ।

तर, नेपालले भुसाललाई मनाएर आफू दोहोरिने प्रयास गरिरहेका छन् । भुसाललाई मनाउन नेपालले नेताहरू नै खटाएको महाधिवेशन स्थलबाट एक नेताले बताए ।

उनका अनुसार त्यसका लागि रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, राजेन्द्र राईलगायतका नेताहरूलाई खटाएका छन् । बुधबार बिहान उनीहरूले भुसाललाई छुट्टै पनि भेटेका थिए । तर, भुसालले आफ्नो अडान छाडेका छैनन् ।

नेपालले भुसाललाई वरिष्ठ उपाध्यक्षसम्म थन्काउन खोजेका छन् । तर, भुसालले भने आफूले नेतृत्व नै लिने बताइसकेका छन् । झलनाथ खनालको साथ पाउने दरिलो आशामा रहेका भुसालले तेस्रो वरीयताकै भएपनि अध्यक्ष नै बन्ने आकाङ्क्षा व्यक्त गरेका छन् ।

उनले यसअघि नै माधवकुमार नेपाल र झलनाथ खनाललाई अघिल्लो वरीयतामा राखेर आफू तेस्रो वरीयताको कार्यकारी अध्यक्ष बन्ने प्रस्ताव लगिसकेका हुन् । अहिले उनी नेपालसँगै भएपनि प्रतिस्पर्धामै उत्रिने अडानमा छन् ।

भुसालले पार्टीका कतिपय नेताहरूले आफूलाई अगाडि बढ्न भनिरहेको बताएका छन् । सोहीबमोजिम आफूले आँट गरेको उनले प्रतिक्रिया दिने गरेका छन् ।

त्यसो त झलनाथ खनाल पनि पुन: माधवकुमार नेपाल दोहोरिऊन् भन्ने चाहँदैनन् । यस्तो अवस्थामा भुसालले खनालको पनि साथ पाउने निश्चितप्राय: छ ।

झलनाथ खनाल-भुसालको पक्षमा मधेस र बागमतीबाहेक अरु प्रदेशबाट आशालाग्दा सङ्ख्यामा महाधिवेशन प्रतिनिधि (मतदाता) आएको नेताहरू बताउँछन् ।

नेता जयन्तीदेवी राई सकेसम्म सर्वसम्मत रूपमा नै जाने त्यो नभए निर्वाचन प्रक्रियामार्फत नै भएपनि नेता छान्ने बताउँछिन् । “सकेसम्म सर्वसम्मत रूपमै जानुपर्छ भन्ने हामी पनि छौँ तर, त्यहाँबाट सम्भव नभए निर्वाचन प्रक्रियाबाटै भएपनि नेता त टुङ्ग्याउनैपर्‍यो,” राईले भनिन् ।

माधवकुमार नेपालनिकटका नेताहरूले कम्तिमा एक कार्यकाल उनलाई नै अध्यक्ष बनाउनुपर्ने बताउँछन् । नेकपा (एमाले) बाट विद्रोह गरेको धेरै नभएको र फुटको औचित्य थप पुष्टिका लागि नेपाल नै अध्यक्ष हुँदा स्वाभाविक हुने उनीहरूको तर्क छ ।

“फेरि अहिले राम्रो सन्देश पनि जाँदैन । त्यसैले माधवकुमार नेपाल कमरेडलाई नै अध्यक्ष बनाउनुपर्ने चुनौती छ,”उनी निकट एक नेता भन्छन् ।

तर, भुसालले भने आफूले नेतृत्व लिएर मौजुदा कम्युनिष्ट पार्टीहरूभन्दा फरकखाले पार्टी बनाउने बताउँदै आएका छन् । कम्युनिष्टहरू ‘नकमाएको सम्पत्ति खाने’ भएको दोहोर्‍याउँदै आएका उनले पार्टीलाई फरक ढङ्गले अघि बढाउने प्रतिबद्धता जाहेर गरेका छन् ।

तर, पार्टीभित्रको एउटा डफ्फाले उनलाई ‘हेय’को दृष्टिले हेर्ने गरेको पाइन्छ । एमालेमा रहँदै खुलेर १० बुँदाको समर्थन गरेको तर, पछि विद्रोहका बेलामा साथ नदिएको भन्दै उनलाई एकथरि नेताहरूले चाहँदैनन् । तर, उनले भने अब पनि अर्को पुस्ताले राजनीतिमा सार्थक हस्तक्षेप नगर्ने हो भने अबेला भइसक्ने बताउँदै नेपाल-खनाललाई स-सम्मान राखेर नेतृत्व लिने बताउँदै आएका छन् ।

सम्भवत: बिहीबार दिउँसोसम्म थाहा हुनेछ, एकीकृत समाजवादीभित्र भुसालको भूमिका के हुन्छ भनेर । तर, उनको जोड तेस्रो वरीयताकै भएपनि अध्यक्ष नै छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved