के रास्वपाले महामन्त्री मुकुल ढकाललाई कारबाही गर्दैछ ?

नेपालभ्युज

के रास्वपाले महामन्त्री मुकुल ढकाललाई कारबाही गर्दैछ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले बुधबार साँझ पार्टी सभापति रवि लामिछानेलाई ३२ पृष्ठ लामो प्रतिवेदन बुझाए ।

दोस्रो उपनिर्वाचन (इलाम २) मा जमानत नै जफत भएपछि ‘अत्तालिएको’ रास्वपाले महामन्त्री ढकाललाई गाउँ तहमा पुग्न र नेता/कार्यकर्ताहरूले दिएको सुझावअनुसारको प्रतिवदेन तयार पार्न निर्देशन दियो ।

त्यसअनुरूप उनी जेठ ६ देखि असार ६ गतेसम्म देशका खासगरी पूर्वी-मधेस केन्द्रित भएर ३८ वटा जिल्ला पुगे र ३२ पृष्ठ ११ बुँदामा प्रतिवेदन तयार पारे । प्रतिवेदनमा आफूले गाउँ तहका नेता/कार्यकर्ताहरूले जे सुझाव दिए, त्यही लेखेको महामन्त्री मुकुलको दाबी छ ।

“सुझाव जे प्राप्त भयो, त्यही लेखेको छु प्रतिवेदनमा,” महामन्त्री ढकालले भने ।

प्रतिवेदनमा उनले पार्टी गम्भीर बिरामी भएको र त्यसको सर्जरी तत्कालै गरिहाल्नुपर्ने, अब पनि सही दिशामा नहिँडे अर्को आवधिक निर्वाचनसम्ममा पार्टी ‘विवेकशील साझा पार्टी’ले भोगेको नियतिबाट गुज्रिनुपर्ने, पुष्पकमल दाहाल ‘प्रचण्ड’-केपी शर्मा ओलीसँग मिल्नुभन्दा बालेन शाह-हर्क साम्पाङसँग मिल्नु पार्टीका लागि लाभप्रद हुनेलगायत उल्लेख गरेका छन् ।

रास्वपा महामन्त्रीको ३२ पन्ने प्रतिवेदन- प्रचण्डसँग मिल्नुभन्दा बालेनसँग मिल्नु बेस

महामन्त्री ढकालले बुधबार साँझ सभापति लामिछानेलाई बुझाउनुअगावै ‘प्रतिवेनको अंश’ भन्दै यी सूचनाहरू दिएका थिए । त्यसलगत्तै कतिपय पार्टीका नेताहरूले ‘महामन्त्रीले ठीक गर्नुभएन…’ भनेर सभापति लामिछानेको ध्यानाकर्षण गराएका थिए ।

महामन्त्री ढकालले सूचना दिँदै यो पनि भनेका थिए कि ‘प्रतिवेदनका कारण म पार्टीबाट घोक्राइन सक्छु’ । पार्टीका केही नेताहरूले यसबारे पनि सभापति लामिछानेको ध्यानाकर्षण गराएका थिए ।

यसपछि पार्टीभित्र महामन्त्री ढकाललाई कारबाही गर्नेबारे अनौपचारिक रूपमा नेताहरूले आवाज उठाएको एक नेताले पुष्टि गरे । नेपालभ्युजसँग ती नेताले भने, “कतिपय नेताहरूले महामन्त्री ढकाललाई कारबाही गर्ने भनेर पार्टीभित्र अनौपचारिक रूपमा कुरा उठाइरहनुभएको छ । संस्थागत रूपमा छलफल भएको छैन । के हुन्छ थाहा छैन ।”

पार्टीभित्र ममाथि घृणित राजनीति भयो, प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक गरियोस् : मुकुल ढकाल


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved