पार्टीभित्र ममाथि घृणित राजनीति भयो, प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक गरियोस् : मुकुल ढकाल

नेपालभ्युज

पार्टीभित्र ममाथि घृणित राजनीति भयो, प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक गरियोस् : मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा.मुकुल ढकालले सभापति रवि लामिछानेसमक्ष समीक्षा  प्रतिवेदन पेश गरेका छन् ।

महामन्त्री ढकालले उपनिर्वाचनपछि देशका विभिन्न क्षेत्रमा पुगेर पार्टीको अवस्थाबारे प्रतिवेदन तयार गरी गृहमन्त्री समेत रहेका सभापति लामिछानेलाई बुधबार हस्तान्तरण गरेका हुन् ।

उनले  पत्रमा भनेका छन्, ‘यसमा मेरो पनि व्यक्तिगत राजनीतिको सवाल छ। मैले गर्दै नगरेको कामहरूलाई पनि मेरो नाममा थुपारिदिएर पार्टीभित्र घृणित राजनीति भयो। मेरा कुरा के के हुन्, जनतालाई मैले कहिले भन्नै पाइन। नराम्रा जति मेरा, राम्रा जति सबै अरूका भए। मेरा कुरा पनि के छन्, त्यो जनताले थाहा पाउनपर्छ। मेरो पनि राजनीतिक अधिकार हो।’

उनले प्रतिवेदन सार्वजनिक नगरे आफूमाथि पार्टीले अन्याय गरेको हुने भन्दै आफूमाथि न्याय गर्न अनुरोध समेत गरेका छन् । उनले यो प्रतिवेदन सबै तहका पार्टी पंक्ति तथा आम नेपालीमाझ जस्ताको त्यस्तै प्रस्तुत गरिनुपर्नेमा पनि जोड दिएका छन् । ११.३ लाख  घण्टीमा भोट हाल्नेहरुले  पनि प्रतिवेदन थाहा पाउनुपर्ने उनको धारणा छ ।

‘महलदेखि जङ्गलसम्म बस्ने जनतासँग भेटी, हिमाल, पहाड, मधेस, तराईका सुगमदेखि दुर्गमका बस्ती पुगी, ८० किलोमिटर पैदल यात्रा र ४२१६ किलोमिटर सडक यात्रा गर्दै, कतै पिच सडक, कहिले भर्खरै ट्रयाक खोलिएका सडक हुँदै अन्त्यमा सुरूङ् मार्गबाट काठमाडौं प्रवेश गर्दै असार ५ गते, घण्टीघर काठमाडौँ आइपुगेर यात्रा समापन गरें,’ उनले भनेका छन् ।

उनले समीक्षा प्रतिवेदनले पार्टीको समकालीन वस्तुस्थितिको यथार्थ चित्रण गर्नुकासाथै पार्टीले लिन पर्ने दिशाका सम्बन्धमा मार्गदर्शन समेत गर्नेमा आफ्नो विश्वास रहेको बताएका छन् ।  ।

यस्तै हिसाबले अगाडि बढे रास्वपाको हालत पनि विवेकशील साझा पार्टीको जस्तो हुने उनको प्रतिवेदनको  विश्लेषण  रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved