काठमाडौं । इजरायलले ८ सय नेपाली कामदार लैजाने भएको छ । इजरायलले मासिक दुई लाख रुपैयाँ तलब दिने गरी ८ सय नेपाली केयर गिभर लैजाने भएको हो ।
वैैदेशिक रोजगार विभागले सूचना निकालेर आवेदन माग गरेको हो । आवेदन हिजैबाट खुल्ला भएको छ भने आवेदन आगामी तीन साताभित्रमा दिइसक्नु पर्ने छ । केयर गिभरका लागि योग्यता पुगेका युवाले विभागको वेबसाइटमार्फत आवेदन दिनुपर्ने व्यवस्था छ ।
विभागका महानिर्देशक डण्डुराज घिमिरेका अनुसार इजरायल जान इच्छुकले असार ११ गतेबाट लागू हुने गरी २१ दिनभित्र आवेदन दिनुपर्नेछ।
सूचना अनुसार सुरुमा ५ सय र त्यसपछि ३ सय नेपालीलाई इजरायलले केयर गिभरका रूपमा लैजाने छ । आठ सयमध्ये ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष छनोट हुनेछन् ।
दुवै देशको सरकारीस्तरमा श्रम सम्झौता भएकाले इजरायलको रोजगारी सुरक्षित मानिन्छ । करार अवधि एक वर्षको भए पनि कार्यअवधि पाँच वर्षसम्म बढाउन पाउने सुविधा छ । छनौट भएकाहरु दुई महिनाभित्रमा गइसक्ने छन् ।
केयर गिभरको रोजगारीमा जानका लागि नर्सिङसम्बन्धी आधारभूत कोर्स अनमी वा सीएमए गरेको हुनुपर्ने वा प्रमाणपत्र तह उत्तीर्ण गरी केयर गिभिङसम्बन्धी कम्तीमा तीन महिनाको तालिम लिनुपर्ने योग्यता तोकिएको छ ।
इजरायलमा केयर गिभरका रूपमा नेपाली कामदार लैजान सन् २०१५ मा पहिलोपटक दुवै देशबीच सम्झौता भएको थियो ।
Facebook Comment
Comment