काठमाडौं । रुसमा अपरिचित बन्दुकधारीले गरेको अन्धाधुन्ध आक्रमण र सुरक्षाकर्मीको प्रत्याक्रमणका क्रममा ठूलो हताहती भएको छ ।
रुसको उत्तरी ककेसस गणतन्त्रको दागेस्तानमा प्रहरी चौकी, गिर्जाघर र एउटा सभाघरमा भएको आक्रमणमा १९ प्रहरी अधिकारी र धेरै सर्वसाधारणको मृत्यु भएको छ । छ जना बन्दुकधारी पनि मारिएको बीबीसीले जनाएको छ ।
कम्तीमा १६ जना घाइतेलाई अस्पताल लगिएको छ । चेचन्याको छिमेकी दक्षिणी रुसको मुस्लिम बहुल गणतन्त्र दागेस्तानमा तीन दिने शोकको घोषणा गरिएको छ।
पेन्टेकोस्टको अर्थोडक्स चाडमा डर्बेन्ट र मखाचकाला सहरलाई लक्षित गरी योजनावद्ध रुपमा गरिएको आक्रमणमा मारिएकामध्ये एक अर्थोडक्स पादरी फादर निकोलाई कोटेलनिकोभ पनि छन् ।
सामाजिक सञ्जालमा आएका भिडिओ फुटेजमा कालो लुगा लगाएका मानिसहरूले प्रहरीको कारमा गोली हानेको देखिन्छ । आक्रमणकारीले एउटा सभाघर र एउटा चर्चमा आक्रमण गरेर आगो लगाएका थिए । दागेस्तान विगतमा इस्लामिक आक्रमणको केन्द्र बनेको थियो ।
यद्यपि आक्रमणकारीको आधिकारिक रूपमा पहिचान गरिएको छैन । बन्दुकधारीहरू माखाचकला नजिकैको सेर्गोकालिन्स्की जिल्लाका प्रमुखका दुई छोरा पनि थिए । एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
टेलिग्राममा पोस्ट गरिएको भिडिओमा, गणतन्त्रका प्रमुख, सर्गेई मेलिकोभले युक्रेन आक्रमणमा संलग्न रहेको र दागेस्तान अब युक्रेनमा रूसको युद्धमा प्रत्यक्ष रूपमा संलग्न भएको संकेत गरे ।
रुसी समाचार एजेन्सीहरूले सोमबार बिहान आक्रमण गरेपछि सुरु गरिएको प्रतिआतंकवाद अभियान समाप्त भएको जानकारी दिएका छन् ।
Facebook Comment
Comment