एकीकृत समाजवादीको दशौं महाधिवेशन : एक हजार आठ सय प्रतिनिधि छनोट

नेपालभ्युज

एकीकृत समाजवादीको दशौं महाधिवेशन : एक हजार आठ सय प्रतिनिधि छनोट

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले दशौं राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट एक हजार आठ सय प्रतिनिधि छनोट गरेको छ ।

यही असार १६ देखि २० गतेसम्म काठमाडौंमा आयोजना हुने महाधिवेशनका लागि ७७ जिल्ला र विभिन्न सङ्गठनबाट एक हजार आठ सय प्रतिनिधि छानिएको पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिए ।

उनका अनुसार महाधिवेशनका लागि एक हजार आठ सय ४९ प्रतिनिधिको व्यवस्था गरिएकामा केही क्षेत्र र मातहतका कमिटीमा विवाद भएकाले प्रतिनिधि छनोट बाँकी छ ।

अधिकांश स्थानमा सर्वसम्मतरूपमा प्रतिनिधि छनोट भएको जनाउँदै पन्तले केही ठाउँमा मात्रै निर्वाचन प्रक्रियाबाट छनोट गरिएको बताए ।

उनका अनुसार महाधिवेशन आयोजक समिति स्वतः प्रतिनिधि हुने व्यवस्था गरिएकाले करिब चार सय ५० केन्द्रीय नेता स्वतः प्रतिनिधि हुनेछन् ।

यसअघि केन्द्रीय नेता पनि चुनियर आउनपर्ने निर्णय गरिएकामा उक्त व्यवस्थालाई संशोधन गरी केन्द्रीय तहका नेता स्वतः प्रतिनिधि हुने व्यवस्था गरिएको थियो ।

छनोट गरिएका प्रतिनिधिको कूल सङ्ख्याको पाँच प्रतिशत अर्थात ९५ जना मनोनयन गर्ने व्यवस्था छ । केही दिनमा ती प्रतिनिधि मनोनयन गरिने पार्टी कार्यालयले जनाएको छ ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग अलग भएर गठन गरिएको एकीकृत समाजवादीले पहिलो पटक महाधिवेशन गर्न लागेको जनाउँदै यसका सदस्य एमालेकै निरन्तरताबाट आएकाले महाधिवेशन गर्न लागिएको पोलिटब्युरो सदस्य पन्तले बताए ।

पार्टीको वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रम पारित गर्ने महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्नेछ ।

सङ्घीय संसद्‌मा १० र राष्ट्रियसभामा आठ सदस्य रहेको पार्टीले सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गरेको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved