टी–२० विश्वकप क्रिकेट

वेस्ट इन्डिजसँग अमेरिकाको फराकिलो हार, सेमिफाइनल पुग्ने सम्भावना समाप्त

नेपालभ्युज

वेस्ट इन्डिजसँग अमेरिकाको फराकिलो हार, सेमिफाइनल पुग्ने सम्भावना समाप्त

काठमाडौं । टी-२० विश्वकप क्रिकेटको सुपर एटमा शनिबार बिहान वेस्ट इन्डिजले अमेरिकालाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ ।

सुपर एटको आफ्नो पहिलो खेलमा इङ्ल्याण्डसँग पराजित भएपछि दबाबमा रहेको वेस्टइन्डिजले दोस्रो खेलमा भने शानदार जित हासिल गरेको हो ।

१२९ रनको लक्ष्य वेस्ट इन्डिजले एक विकेट क्षतिमा १०.५ ओभरमै पूरा गरेको थियो । ओपनर शाही होपले ३९ बलमा ८ छक्का र ४ चौका मद्दतमा अविजित ८२ रन बनाए । निकोलस पुरन २७ रनमा अविजित रहे ।

त्यसअघि ब्रिजटाउनमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका १९.५ ओभरमा १२८ रनमा अलआउट भएको थियो ।

उसका एन्ड्रिस गोसले २९, नितिश कुमारले २०, मिलिन्द कुमारले १९ र श्याडली भान श्यालवाएकले १८ रन बनाए ।

वेस्ट इन्डिजका आन्द्रे रसेल र रोस्टन चेसले तीन/तीन, अल्जारी जोसेपले २ विकेट लिए ।

सुपर एटमा अमेरिकाको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएको हो । अमेरिकाको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।

शुक्रबार राति भएको समूह २ को अर्को खेलमा दक्षिण अफ्रिकाले इङ्ल्याण्डलाई हराएको छ । दक्षिण अफ्रिका २ खेल जितेर ४ अंकसहित शीर्ष स्थानमा छ ।

एक/एक खेल जितेका वेस्ट इन्डिज र इङ्ल्याण्ड दोस्रो र तेस्रो स्थानमा छन् । अब वेस्ट इन्डिजले दक्षिण अफ्रिका र इङ्ल्याण्डले अमेरिकासँग खेल्ने छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved