काठमाडौं । मकवानपुरको कुलेखानीमा ९ लाख माछाका भुरा छोडिएको छ । इन्द्रसरोवरको जलीय जैविक विविधता संरक्षणका लागि ९ लाख २० हजार माछाका भुरा छाडिएको हो ।
मत्स्य विकास केन्द्र, कुलेखानी मकवानपुरले ८ लाख र प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवं संरक्षण केन्द्र हेटौँडाले एक लाख २० हजार माछाका भुरा कुलेखानी जलाशयमा छाडेका हुन् । वरिष्ठ मत्स्य विकास अधिकृत सरोजकुमार यादवका अनुसार रहू तथा नैनी प्रजातिका माछाका भुरा एक लाख २० हजार छाडिएको छ ।
नेपाली सेना, स्थानीय, कर्मचारी र सरोकारवालाको सहयोगमा माछाको भुरा जलाशयसम्म लगेर छाडिएको थियो ।
मत्स्य विकास केन्द्र, कुलेखानी मकवानपुरले मत्स्य विकास केन्द्र भण्डाराबाट ५ लाख र हिरा मत्स्य ह्याचरीबाट ३ लाख माछाको भुरा खरिद गरेको थियो ।
यसअघि प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौँडाले बागमती नदीमा रहू तथा नैनी प्रजातिका एक लाख २५ हजार माछाका भुरा छोडेको थियो ।
केन्द्रले प्राकृतिक जलाशयमा जलीय जैविक विविधता संरक्षण तथा त्यसमा आश्रित समुदायको जीवन उकास्नका लागी स्थानीय जातका माछाका भुरा छाडेको हो ।
मत्स्य विकास केन्द्र, कुलेखानी मकवानपुरले अघिल्लो आर्थिक वर्षमा १० लाख माछाको भुरा छाडेको थियो । केन्द्रले चालु आर्थिक वर्षको जेठ मसान्त सम्म २ हजार ६६ केजी माछा उत्पादन गरेर सो विक्री मार्फत ५ लाख १२ हजार रुपियाँ राजस्व संकलन गरेको छ ।
उत्पादन भएका माछा स्थानीय स्तरमै खपत हुने गरेको छ । सिल्भर बिग हेड प्रतिकेजी २५० रुपियाँ र पिँजडामा पालेको माछा प्रतिकेजी २३० र कमन कार्प, रुहु, नैनी प्रतिकेजी ३०० का दरले स्थानीय स्तरमै विक्री हुने गरेको छ ।
पर्यटकको रोजाइको क्षेत्र भएकाले यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकले यहाँको माछा अत्यधिक मन पराएर खाने गरेको होटेल व्यवसायी युनिक विष्टले बताए ।
२०४५ सालदेखि निजी स्तरमा कृषकहरूलाई प्रविधि सिकाई पिँजडामा माछापालन कार्यको थालनी गरिएको थियो ।
वि.सं. २०६६ सालमा ६८५ जना शेयर सदस्य सहित इन्द्रसरोवर मत्स्य व्यवसायी संघको स्थापना गरी रिजरभ्वायरमा पिञ्जडामा माछा पालन तथा खुला तालमा विभिन्न जातका माछाको भुरा छोडी मत्स्यपालन कार्य सञ्चालन हुँदै आइरहेको छ ।
Facebook Comment
Comment