जर्मनी। राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच भेटवार्ता भएको छ । जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रममा सहभागी हुन आएका राष्ट्रपति पौडेल र स्टाइनमायरबीच वर्लिनस्थित राष्ट्रपति भवनमा सोमबार भेटवार्ता भएको हो ।
जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी आएका हुन् । भेटका क्रममा राष्ट्रपति पौडेलले नेपालले जर्मनीसँगको सम्बन्धलाई सदैव उच्च महत्व दिएको र बदलिदो विश्व परिवेशमा यो सम्बन्ध अझ घनिष्ठ हुने विश्वास व्यक्त गर्दै सामाजिक न्याय, मानव अधिकार, लोकतन्त्र, कानुनी राज्य तथा स्वतन्त्रताका लागि विश्वस्तरमा अझ क्रियाशील रहनुपर्छ भन्ने आफूलाई लागेको बताए ।
“ दिगो शान्ति, स्थायित्व र विकासको राष्ट्रिय आकांक्षा हासिल गर्न नेपाल तल्लिन रहेको छ, नेपालको शान्ति प्रक्रियामा जर्मनीबाट प्राप्त सहयोगको लागि धन्यवाद व्यक्त गर्दछु, नेपालको विकासको पथमा मित्र राष्ट्र जर्मनीको निरन्तर साथ र सहयोग रहनेमा हामी विश्वस्त छौ”, राष्ट्रपति पौडेलको भनाई उदृत गर्दै राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले बताए ।
राष्ट्रपति पौडेलले नेपालले हासिल गरेको राजनीतिक उपलब्धिलाई स्थायित्व दिन आर्थिक विकास गर्नु जरुरी रहेको बताउँदै अन्तर्राष्ट्रिय समुदाय र जर्मनी लगायतका मित्रराष्ट्रले नेपाललाई प्रदान गरिरहेको सहयोगलाई निरन्तरता दिई नेपालको आर्थिक विकासको आकांक्षा पूरा गर्नमा सहयोग गर्ने विश्वास व्यक्त गरे ।
राष्ट्रपति पौडेलले सहभागितामूलक र समावेशी लोकतन्त्र, मानव अधिकार, मौलिक अधिकार, लैंगिक समानता, जलवायु परिवर्तन जस्ता धेरै सामाजिक–आर्थिक मुद्दाहरुमा दुई देशबीच अन्तरराष्ट्रिय मञ्चहरुमा समान धारणा रहेको पनि बताए ।
नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन प्रयासरत रहेको र यसलाई समस्यारहित, दिगो तथा अपरिवर्तनीय बनाउन आवश्यक भएको उल्लेख गर्दै उनले यसको लागि स्रोत, साधन, प्रविधि, लगानी तथा आर्थिक सहकार्यको आवश्यकता रहेको बताएको पोखरेलले जानकारी दिए ।
नेपालको वर्तमान लक्ष्य कृषिलाई आधुनिकीकरण गर्नु, जलश्रोत तथा उर्जा क्षेत्रमा रहेको विशाल संभावनालाई उपयोग गर्नु, पूर्वाधार विकासलाई तीब्र पार्नु, पर्यटनका संभावनालाई उपयोग गर्नु र जलवायु परिवर्तनको नकारात्मक प्रभाव विरुद्ध लड्नु रहेको उनले बताए । “नेपालको आर्थिक विकासको लागि कृषि क्रान्ति, जलस्रोत र पर्यटनको विकास आवश्यक छ, यसमा नेपालले सहयोगको अपेक्षा गरेको छ”, राष्ट्रपति पौडेलले भने ।

उहाँले वर्लिनको पर्खाल भत्कनु र नेपालमा प्रजातन्त्र पुनस्थापना हुनु एकैपटक परेको उल्लेख गर्दै आफूले त्यसबेला स्थानीय विकास मन्त्रीको रुपमा जर्मनको भ्रमण गरेको स्मरण गरे । उनले युक्रेनमा झुक्याएर पुर्याइएका नेपालीहरुलाई छुटाउन पहलको लागि पनि आग्रह गरे ।
नेपाल र जर्मनीबीच विद्यमान व्यापार, लगानी र वाणिज्यका सम्बन्धहरुलाई थप विस्तार गर्न निजी क्षेत्रलाई अभिप्रेरित गर्नु जरुरी रहेको भन्दै उनले गत महिना काठमाण्डौंमा नेपाल सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा जर्मन लगानीकर्ताहरूको उत्साहजनक सहभागिता रहेको उल्लेख गरे ।
जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टरले जर्मनी नेपालको आर्थिक विकासको लागि हरतरहको सहयोग गर्न तत्पर रहेको बताएको उनको भनाइ उद्यृत गर्दै प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए । राष्ट्रपति पौडेलले आइतबार जर्मन वैज्ञानिकहरुसँगको भेटमा जलवायु परिवर्तनका असरबारे राखेको भनाइप्रति चासो राख्दै जर्मन राष्ट्रपतिले जर्मन त्यसबारे गम्भिर रहेको र नेपालप्रति आवश्यक सहयोगका सन्दर्भमा सहानुभूति रहेको उल्लेख गरे । साथै उनले नेपाल जर्मनको पुरानो मित्र भएको बताउँदै संयुक्त राष्ट्रसंघका मञ्चमा पनि नेपालसँग जर्मनको धेरै कुरा मिल्ने उल्लेख गरे ।
जर्मनका राष्ट्रपतिले नेपालजस्तो मुलुकको अप्ठयारा बुझेको र त्यसमा आफ्नो सहानुभुती रहेको बताए । साथै उनले नेपाली हवाई एयरलाइन्सलाई यूरोपेली संघको आकासमा उडान गर्न लगाइएको प्रतिबन्ध हटाउने सन्दर्भमा आफू सकारात्मक रहेको बताए ।
सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण भएको बताइएको छ । प्रेस सल्लाहकार पोखरेलले जर्मनले राष्ट्रपति पौडेललाई यस पटकको भ्रमणमा खुलेर स्वागत गरेको र खुलेर सहयोग गर्ने वचन दिएको बताए ।
दुईपक्षीय भेटवार्ताअघि राष्ट्रपति पौडेललाई जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको थियो ।
Facebook Comment
Comment