निःशुल्क लिन सकिन्छ नबिलका यी १८ शाखाबाट शौचालय सुविधा

नेपालभ्युज

निःशुल्क लिन सकिन्छ नबिलका यी १८ शाखाबाट शौचालय सुविधा

काठमाडौं । केन्द्रीय कार्यालयसहित काठमाडौं नगरपालिकाभित्र नबिल बैंकका १८ वटा शाखा छन् । त्यहाँ भएका शौचालयलाई सर्वसाधारणले आवश्यकता अनुसार प्रयोग गर्न सक्छन् ।

आफ्ना ग्राहक र सर्वसाधारणका लागि विविध सेवा सुविधाहरू सार्वजनिक गर्दै आइरहेको नबिल बैंकको यो कदमको प्रशंसा हुने गरेको छ । २०७९ जेठ १६ गतेमा नबिल बैंक र काठमाडौं महानगरपालिकाबीच १६ बुँदे सम्झौता भएपछि बैंकले आफ्नो शौचालयमा सर्वसाधारण मानिसको पहुँच दिएको हो ।

महानगरले सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्‍याउन गरेको आह्वान अनुसार बैंकले ऐक्यबद्धता स्वरूप यो निर्णय लिएको हो ।

उक्त सम्झौता पाँच वर्षको रहेको छ । गत जेठ १६ गते त्यसको दुई वर्ष पूरा भएको छ । अब तीन वर्ष बाँकी छ ।

उक्त सम्झौता पत्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल र बैंकको तर्फबाट तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनिल केशरी शाहले हस्ताक्षर गरेका थिए ।

शुल्क लाग्छ कि लाग्दैन ?

अन्य सार्वजनिक भनिएका शौचालयहरू सर्वसाधारणले प्रयोग गरे बापत निश्चित शुल्क तिर्नुपर्छ । शौचालयको बाहिर नै ‘पिसाब ५ रुपैयाँ, दिसा १० रुपैयाँ’ भनेर सूचना टाँसिएको हुन्छ । सोही अनुरुप सर्वसाधारणले शुल्क तिरिरहेका हुन्छन् ।

नबिल बैंकको सुरु गरेको सार्वजनिक शौचालय भने निःशुल्क हो । यो सेवा प्रयोग गरेबापत सर्वसाधारणले शुल्क तिर्न पर्दैन । शौचालयको सरसफाइ र आवश्यक सामानको व्यवस्था बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गर्ने सम्झौता पत्रमा उल्लेख छ ।

के के छन् सम्झौता पत्रमा ?

१. आफ्नो स्वामित्व तथा भोगाधिकार भएको काठमाडौं महानगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानमा रहेका १८ वटा बैंकका केन्द्रीय कार्यालयसहित शाखाहरूमा सञ्चालनमा रहेका शौचालयहरू सार्वजनिक रूपमा प्रयोग गर्न दिने

२. बैंकले आफ्नो भवनमा रहेको शौचालय सार्वजनिक प्रयोगको लागि समेत भएको सूचना सहितको संकेत बोर्ड प्रस्ट देखिने गरी राख्नुपर्ने ।

३. उक्त शौचालय प्रयोग गरेबापत कुनै पनि प्रकारको शुल्क लिन नपाउने ।

४. शौचालय प्रयोग गरेबापत बैंकले कुनै पनि सर्वसाधारणलाई बैंकमा खाता खोल्न अथवा कुनै पनि विषयमा करकाप तथा प्रोत्साहन गर्न नपाइने ।

५. शौचालयको सरसफाइ तथा त्यसका लागि लाग्ने सरसामान बैंक आफैंले जुटाउनुपर्ने ।

६. सम्झौता बमोजिम शौचालय प्रयोगमा आएपश्चात् शौचालय सरसफाइका सामानहरू (सफाई गर्ने तरल पदार्थ, ब्रस र सुगन्ध छर्ने) र व्यवस्थापनका अन्य प्रबन्धका विषयमा मापदण्ड बनाई कार्यान्वयनमा ल्याउने ।

७. प्रयोगमा आएको शौचालयको मर्मत, सम्भार र सरसफाइ तथा पानीको व्यवस्था सबै बैंक स्वयमले गर्नुपर्ने ।

८. सम्झौता अवधि पाँच वर्षको हुनेछ भने दुई पक्षको सहमति भए यसको अवधि लम्बाउन सकिने ।

९. शौचालयमा ‘सार्वजनिक शौचालय’ बाहेकका अन्य प्रचारप्रसारका सामग्री तथा विज्ञापन टास्न नपाइने ।

१०. शौचालयको अनुगमन तथा मूल्याङ्कन गरी प्रत्येक चार महिनामा प्रतिवेदन पेस गर्न दुवै पक्षबाट एकएक प्रतिनिधि तोकिने ।

कतिको उपयोगी छ नबिलको सावैजनिक शौचालय ?

नबिल बैंकको केन्द्रीय कार्यालयसहित १८ वटा शाखाका शौचालय सार्वजनिक भए पनि कतिपयमा ‘सार्वजनिक शौचालय’को सांकेतिक बोर्ड राखिएको छैन । जसका कारण कतिपय सर्वसाधारणले बैंकको शौचालय सार्वजनिक हो भनेर जानकारी पाउने गरेका छैनन् । जसका कारण कतिपय मानिसहरू शुल्कसहितको शौचालय प्रयोग गर्न बाध्य छन् । वा विकल्प खोज्न बाध्य छन् ।

बैंकका अनुसार, अहिले केन्द्रीय कार्यालयसहित केही शाखाहरूमा मात्रै सार्वसाधारणहरुले शौचालय प्रयोग गरिरहेका छन् ।

यद्यपि, बैंक र महानगरबीच भएको सम्झौतानुरुप १८ वटै शाखाले ‘सार्वजनिक शौचालय’को जानकारीयुक्त बोर्ड राख्ने उल्लेख गरिएको छ ।

के भन्छ बैंक ? 

महानगरको आह्वान स्वीकारेर बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सम्झौता गरेको नबिलले आफ्ना केही शाखामा हाडिङ बोर्ड राख्न पाएको छैन ।

सम्झौताको दुई वर्ष बितिसक्दा पनि बैंकको ठमेल लगायतका केही शाखामा ‘सार्वजनिक शौचालय’को होडिङ बोर्ड राख्न नपाएको बैंकले जनाएको छ ।

उक्त कार्यका लागि बाधक महानगरकै नीति रहेको बैंकको भनाइ छ । सम्झौतानुरुप १८ वटै कार्यालयका शौचालयमा सांकेतिक बोर्ड राख्नुपर्ने अनिवार्य भए पनि त्यसमा कहीँ महानगरको नीति र कहीँ घरबेटीले राख्न नदिएको कारण बैंकको बोर्ड राख्न नपाएको बैंकको भनाइ छ ।

कुन–कुन शाखाका शौचालय सार्वजनिक हुन ?

नबिल बैंकले काठमाडौं उपत्यकाका केन्द्रीय बैंकसहित १८ वटा शाखाका शौचालय सार्वजनिक रूपमा प्रयोग गर्न दिने सम्झौता भएको थियो ।

त्यसमध्ये, दरबार मार्गमा रहेको केन्द्रीय कार्यालय, जोरपाटी, महाराजगञ्ज, नयाँ बानेश्वर, ठमेल, चावाहिल, मैतीदेवि, कुलेश्वर, कान्तिपथ, धापासी, अनामनगर, सिनामंगल, कलंकी, भाटभटेनी, धुम्बाराहि, न्युरोड–धर्मपथ, कालिमाटी र शंखमुल शाखा रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved