काठमाडौं । सन् २०१६ को ‘ब्रेक्जिट जनमत संग्रह’ पछि बेलायत युरोपियन युनियनबाट बाहिरियो तर, अझै २७ देश यसका सदस्य छन् ।
सन् १९५७ मा जर्मनी, फ्रान्स, बेल्जियम, इटाली, लक्जेम्बर्ग र नेदरल्याण्ड्स मिलेर युनियनको आधारशीला तयार गरेका थिए ।
बेलायत सन् १९७३ मा थपिएको थियो, सन् २०१६ मा निस्कियो, यसले युरोपेली सङ्घको अस्तित्वमा खासै ठूलो असर परेको छैन ।
अष्ट्रिया, बेल्जियम, बुल्गेरिया, क्रोएसिया, साइप्रस, चेक गणतन्त्र, डेनमार्क, इस्टोनिया, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस, हंगेरी, आयरल्याण्ड, इटाली, लात्भिया, लिथुवानिया, लक्जेम्बर्ग, माल्टा, नेदरल्याण्ड्स, पोल्याण्ड, पोर्चुगल, रुमानिया, स्लोभाकिया, स्लोभानिया, स्पेन र स्वीडेन सङ्घका सदस्य राष्ट्र हुन् ।
अझै तीन देश यसमा थपिन चाहन्छन्, युक्रेन, माल्दोभा र जर्जिया । रुस- युक्रेन युद्धपछिको जटिलताको कारण यीनको सदस्यता प्रक्रिया पूरा भएको छैन ।
भर्खरै युरोपेली सङ्घको दशौं संसदीय निर्वाचन सम्पन्न भएको छ । सन् १९७९ पछि सङ्घको संसदीय चुनाव सबै देशमा प्रत्यक्ष मतदानद्वारा गर्न थालिएको थियो ।
युरोपेली संसद्मा २७ देशबाट जम्मा ७२० सदस्य निर्वाचित हुन्छन् । सबैभन्दा धेरै ९६ सिट जर्मनीको भागमा छ ।
दोस्रो स्थानमा फ्रान्सको भागमा ८१ र इटालीको भागमा ७६ सिट छ । सबैभन्दा कम सिट भएका ३ देशमा साइप्रस, माल्टा र लम्जेम्बर्ग पर्दछन् । यिनले ६-६ सिट पाएका छन् ।
मध्यम जनसंख्या आकारका देशको भागमा परेको सिट संख्या २० देखि ३५ सम्म छ । यसभित्र अष्ट्रिया, हंगेरी, पोर्चुगल, स्वीडेन, चेक, ग्रीस, बेल्जिमय, नेदरल्याण्ड र रुमानिया हुन् । जर्मन, फ्रान्स र इटलीपछि स्पेनसँग ६१ र पोल्याण्डसँग ५३ सिट छ ।
युरोपेली संसद्को चुनावलाई भारतपछि संसारको ‘दोस्रो ठूलो लोकतन्त्र’ भनिन्छ । यसपटकको निर्वाचनमा करिब साढे ३७ करोड मतदाता थिए ।
युरोपेली सङ्घका २७ सदस्य देशमा २४ भाषा बोलिन्छन् । युरोपेली सङ्घले युरो जोनमा युरो मुद्राको भूमिका नियन्त्रण र निर्धारण गर्दछ ।
युरोपेली सङ्घको बजेट बनाउँछ । युरोपेली संसद्ले पारित गरेका विधेयक सबै सदस्य देशका लागि मान्य हुन्छन् । संसद्ले युरोपेली आयोग प्रमुखको छनोटसमेत गर्दछ । यस पदमा अहिले उर्सुला भोन डेन लियन छन् ।
जुन ६–९ बीच भएको युरोपेली सङ्घको चुनावमा दक्षिणपन्थी पार्टीहरूको लहर देखिएको छ । र, त्यसको सबैभन्दा ठूलो प्रभाव फ्रान्समा परेको छ । फ्रान्सको दक्षिणपन्थी समूह नेशनल र्यालीले एक्लै ३० प्रतिशत मत पाएको छ ।
राष्ट्रपति म्याक्रोन म्यारिन लि पेन र जोर्डन बर्डेला नेतृत्वको दक्षिणपन्थी गठबन्धनको सफलताबाट चिन्तित देखिएका छन् । उनले यही निहुँमा फ्रान्सको नेशनल एसेम्बली नै भंग गरेर नयाँ चुनावको घोषणा गरेका छन् ।
विश्लेषक भन्छन् कि राष्ट्रपति म्याक्रोनको कदम आत्मघाती हुन सक्ने छ । फ्रान्सको नेशनल एसेम्बलीमा पहिलोपटक नेशनल र्यालीले बहुमत हासिल गर्न सक्ने छ ।
त्यसो भए राष्ट्रपति म्याक्रोन जोर्डन बर्डेलालाई प्रधानमन्त्री नियुक्त गर्न बाध्य हुनेछन् । यसो हुनु आगामी राष्ट्रपति निर्वाचनमा म्यारिन लि पेनका लागि एलिसी दरबारको ढोका खोल्नुसरह हो ।
युरोपेली सङ्घको चुनावले फ्रान्सको आन्तरिक राजनीतिमा यति ठूलो दबाब सृजना होला भन्ने कसैले सोचेको थिएन । फ्रान्समा मात्र हैन, युरोपका अधिकांश देशमा वामपन्थी र मध्यमार्गीमाथि दक्षिणपन्थी हाबी भएका छन् ।
युरोपेली संसदको निर्वाचनमा देशभित्र दलहरू आआफ्नो दलीय हैसियतबाट चुनाव लड्ने गर्दछन् । संसद्मा भने तिनीहरू गठबन्धन बनाउँछन् ।
यसपटकको निर्वाचनमा दक्षिणपन्थीहरूको सबैभन्दा ठूलो गठबन्धन युरोपियन पिपुल्स पार्टीले १४ सिट बढाएर १९० सिट हासिल गरेको छ ।
युरोपेली संसद्को दोस्रो ठूलो दक्षिणपन्थी समूहलाई युरोपियन कन्जर्भेटिभ एण्ड रिफर्मिष्ट (इसीआर) भनिन्छ । यसले ७ सिट बढाएर ७६ सिट बनाएको छ ।
दक्षिणपन्थीहरूको सहकार्यमा हुने आइडेन्टीटी एण्ड डेमोक्रेसी (आईडी) समूहले ८ सिट बढाएर ५८ सिट बनाएको छ ।
अर्कोतिर वामपन्थी तथा मध्यमार्गी समूहले भने सिट गुमाएका छन् । सोसलिष्ट एण्ड डेमोक्रेटिक समूहसँग १३६ सिट छ भने रिन्यू युरोपसँग ८० सिट छ । यी समूहले गत चुनावमा भन्दा २५ सिट गुमाएका छन् ।
अर्को मध्यमार्गी समूह ग्रिन पार्टी समूहले १९ सिट गुमाएको छ । अब यो समूहसँग ५२ सिट मात्र छ । शुद्ध वामपन्थी समूहसँग भने ३९ सिट छ ।
प्रष्ट भएका दक्षिणपन्थी समूहसँग कुल ३२४ सिट हुन्छ भने वामपन्थी तथा मध्यमार्गी समूहसँग ३०७ मात्र । तर, दक्षिणपन्थीहरू बीचको सहकार्य जति सम्भव र व्यावहारिक छ–वामपन्थी र मध्यमार्गी समूहबीच आफैँभित्र ठूल्ठूला मतभेद छन् ।
इटालीमा प्रधानमन्त्री जर्जिया मेलोनीको ब्रदरहुड पार्टीले आफूलाई झनै बलियो सावित गरेको छ । उनी एक्काइशौं शताब्दीको युरोपमा सबैभन्दा बलियो दक्षिणपन्थी नेताका रुपमा चित्रित हुन थालेकी छन् ।
मेलोनीको पार्टीले करिब २९ प्रतिशत भोट सहित २४ सिट जितेको छ । गत चुनावमा यो पार्टीसँग ६ सिट मात्र थियो ।
फ्रान्समा आगामी चुनाव नेशनल र्यालीले जित्यो भने युरोपेली दक्षिणापन्थले बलिया दुई महिला नेता प्राप्त गर्ने छ । मेलोनी र लि पेन ।
पोल्याण्ड र हंगेरीमा दक्षिणपन्थी पार्टीले केही सिट गुमाएका छन् तर, अहिले पनि ती सबैभन्दा ठूलो पार्टीका रुपमा कायमै छन्। फ्रान्समा नेशनल र्यालीले ३१.३७ प्रतिशत मत र ३० सिट पाएको छ ।
जर्मन चान्सलर ओल्फ सोल्जको एसडिपी पार्टी वामपन्थ तथा मध्यमार्गी समूहको एक ठूलो आशा थियो । तर, यो १४ सिट सहित तेस्रो स्थानमा धकेलियो । १३.९ प्रतिशत मात्र भोट पायो ।
जबकि दक्षिणपन्थी क्रिश्चियन डेमोक्र्याट्स र उसका कन्जर्भेटिभ साझेदारले ३० प्रतिशत भोट र २९ सिट पाए । १५ सीट सहित दोस्रो स्थानमा आएको एअफडी पनि दक्षिणपन्थी समूह नै हो । ग्रिन पार्टी र गठबन्धन भने त्यहाँ १२ सिट सहित चौथो स्थानमा धकेलिएको छ ।
युरोपमा दक्षिणपन्थी समूह झन् बलियो हुँदै जानुको कारण भने शरणार्थी तथा आप्रवासन समस्या र ‘युरोपको इस्लामीकरण’ को चिन्तालाई मानिएको छ । लेफ्ट–लिवरलहरू जनतामा छाएको यो चिन्ता हटाउन असफल हुँदै गएका छन् ।
युरोपेली संसदमा दक्षिणपन्थी समूहको बढ्दो शक्तिको अर्को कारण रुस- युक्रेन युद्ध हो । लम्बिदो युद्धले युरोपलाई धेरै दु:ख दिएको छ ।
अधिकांश दक्षिणपन्थी समूह युक्रेनलाई सबै प्रकारका नि:शर्त सहयोग दिनुपर्ने र रुसलाई जुनकुनै हालतमा फिर्ता हुन बाध्य गर्नुपर्ने धारणा राख्दछन् । तर, कतिपय दक्षिणपन्थी समूहले रुसप्रति सहानूभूति राखेको पनि देखिन्छ ।
यस मुद्दामा स्वयं मेलोनी र लि पेन विभाजित छन् । मेलोनी आफूलाई युक्रेनको बलियो समर्थक मान्छिन् भने लि पेन मास्कोप्रति सहानुभूति राख्छिन् ।
युरोपेली संघको चुनावमा मतदान दर भने निराशाजनक थियो । जम्मा ५१ प्रतिशतले मात्र मतदान गरेका थिए ।
Facebook Comment
Comment