काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पत्रकारलाई निर्मम प्रश्न गर्न आग्रह गरेलगतै पत्रकारको प्रश्न नै नसुनी कार्यक्रम छाडेर हिँडेका छन् ।
गृह मन्त्रालय सम्हालेको सय दिन पुगेको उपलब्धिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले पत्रकारको प्रश्नको नसुनी हिँडेका हुन् ।
सहकारीका हजारौँ बचतकर्ताको अबौँ बचत अपचलन प्रकरणका झन्डै एक दर्जन आरोपीमध्येका एक उनै लामिछाने पनि हुन् ।
यो प्रकरणमा उनको संलग्नताका केही प्रमाण सतहमै आइसकेको छ । तर, यस्ता प्रश्न पन्छाइरहेका उनले शुक्रबार यस्तो अनौठो पत्रकार सम्मेलन गरे कि पत्रकार आफैँलाई डाकेर प्रश्न समेत सुनेनन् ।
सायद उनीसँग जोडिएका अरू धेरै प्रश्नहरू पत्रकारसँग थिए, होला । जसको सामान गर्न गृहमन्त्री लामिछाने तयार भएनन् ।
एक छिनअघि उनले पत्रकारहरूलाई ‘निर्ममभन्दा निर्मम प्रश्न गर्न’ आग्रह गरेको थिए । आफूलाई खबरदारी गर्न आग्रह गरेका लामिछालेले कार्यक्रमको अन्त्यमा पत्रकारको एउटा पनि प्रश्न नसुनी कार्यक्रम हलबाट बाहिरिए । बोली र व्यवहारबीच एकैछिनमा विरोधाभास देखियो ।
लामिछाने तीनै व्यत्ति हुन्, जो हरेक सार्वजनिक कार्यक्रममा भन्ने गर्छन्, ‘मेराबारेमा उठाइएका प्रश्नबाट आत्तिएको र तर्सिएको छैन, हरेक प्रश्नको सामना गर्न सक्छु ।’
शुक्रबार पत्रकार सम्मेलन निर्धारित समयभन्दा करिब २ घण्टा ढिलो गरेका लामिछानेले करिब डेढ घण्टा पत्रकार सम्मेलन गरे । साढे २ बजे गृहमन्त्रालयमा बोलाएर उनले करिब साढे ४ बजे सुरु गरे ।
गृहमन्त्रालयका प्रवक्ता, राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण विभागका महानिर्देशकलगायतले बिफ्रिङ गरे ।
‘उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले सय दिन पुगेको अवसरमा पत्रकार सम्मेलन’ भनिए पनि गृहमन्त्रालयका प्रवक्ता तथा राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण विभागका महानिर्देशकलगायतले पहिल्यैदेखिको कामको विवरण सुनाए । उनीहरूले सुनाएका कतिपय विवरणहरू लामिछाने गृहमा आउनुभन्दा पहिलैदेखि निरन्तर हुँदै आइरहेको थियो ।
अन्तमा गृहमन्त्री लामिछानेले सम्झिप्तमा बोले । उनले आफ्नो सय दिने कार्यकालका उपलब्धि सुनाए । ‘यहाँहरूले निरन्तर हाम्रा कुरा, काम सार्वजनिक गरिदिएर नागरिककहाँ पुर्याइदिएर जुन साथ र सहयोग दिनुभएको छ, त्यसको लागि धन्यवाद ज्ञापन गर्न चाहन्छु। आगामी दिनमा तपाईँहरूको निर्ममभन्दा निर्मम प्रश्नहरू रहुन् । तपाईँका विश्लेषण कडाभन्दा कडा रहुन् । यो के भएको, कसो भएको चुनौतीका साथ भन्नुहोला’ उनले भने ।
यति भनेर लामिछानेले मन्त्रालय मातहतका निकायलाई धन्यवाद दिएर कार्यक्रम रोक्दै उठे । अगाडिबाट पत्रकारहरूले प्रश्नको जवाफ दिन आग्रह गरे । ‘गृहमन्त्रीज्यू, जवाफ दिनुस्, जवाफ दिनुस् ’ पत्रकारहरू भन्दै थिए । कतिपयले उनको बाटो छेक्दै भनिरहेका थिए, ‘पत्रकारले प्रश्न सोध्न पाउनुपर्छ, तपाईँले जवाफ दिनुपर्छ ।’
गृहमन्त्री लामिछानेले बहाना बनाउँदै भने, ‘यो प्रेस मिट होइन, प्रेस ब्रिफिङ हो । निमन्त्रणामै हेर्नुस् न ।’
यति भनेपछि मन्त्रालयका विभिन्न अधिकारीले १९ पृष्ठमा आफ्नो मन्त्रालयका उपलब्धिहरूको एकएक प्रति केही पत्रकारलाई बाँडे ।
गृहमन्त्री लामिछाने पत्रकार सम्मेलन स्थगन गरेर उठ्दा कतिपय पत्रकारले एकोहोरो सोधिरहेका थिए, ‘सम्भव सिरोहियाले समाचार रोक्न बार्गेनिङ गरेको भनेका छन्, यो के सत्य हो ? बार्गेनिङ गरेर समाचार रोक्न भनेको हो ?’
यस्तैयस्तै प्रश्न पत्रकारहरूबाट आइरहँदा लामिछाने सुन्दै नसुनी हलबाट बाहिरिए ।
केही दिनअघि कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले ‘गृहमन्त्री लामिछानेले समाचार लुकाउन धेरै अनुरोध गर्नुभएको र नमानेपछि बुवा कैलाश सिरोहियालाई पक्राउ गराएको’ आरोप लगाएका थिए । सोलगायत केही प्रश्न पत्रकारले गर्ने तयारी गरेपछि लामिछानेले प्रश्नको सामना नगरी हिँडेका हुन् ।
उसो त लामिछानेको बोली र व्यवहारबीच यसअघि नै कैयौँ विरोधाभास नदेखिएको होइन ।
सहकारीका हजारौँ बचतकर्ताको ७ अर्बभन्दा बढी रकम अपचलन प्रकरणका झन्डै एक दर्जन आरोपीमध्येका एक उनै लामिछाने पनि हुन् । पोखरा र बुटवलमा मा उनीविरुद्ध प्रहरीमा उजुरी नै परेको छ ।
गृह मन्त्रालयअन्तर्गतकै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीमाथि अनुसन्धान गरिरहेको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सम्पत्ति शुद्धीकरण विभाग पनि छानबिनमै थियो । यस्तो गम्भीर आरोपी उनै लामिछाने गृहमन्त्री बनेपछि प्रश्न उठ्नु स्वाभाविक थियो । तर, उनले ती सबै प्रश्नहरू पन्छाउँदै आइरहेका छन् ।
स्टन्टको राजनीति गर्दै आएका रविले आफूमाथि उठेका कानुनी, राजनीतिक र नैतिक प्रश्नहरूलाई बेवास्ता गरिरहेकाछन् । अघिल्लो कार्यकालमा आफूमाथि उठेका प्रश्नलाई पन्छाउन खोज्दा उनले भएभरका सबै पद गुमाउनुपरेको थियो । नागरिकता प्रकरणमा पद गुमाएका उनको दोहोरो पासपोर्ट प्रकरण पनि थियो । अहिले झन् सहकारीको बचत अपचलन मुद्दा थपिएको छ ।
उनको यस्तो स्वभाव देखेका जानकारहरू भन्छन्, ‘प्रश्नको सामना गर्न नसक्ने राजनीतिकर्मीलाई त्यो प्रत्युत्पादक हुन सक्छ । सोसल मिडियाको भेलले भोलि उनीभन्दा ठूलो गफ दिने कसैलाई राजनीतिमा नल्याउँला भन्न सकिन्न । त्यो बेला उनी विस्थापित हुन सक्छन् । यसैले प्रश्नबाट नभाग्दा राम्रो ।’
Facebook Comment
Comment