काठमाडौं । मेड इन नेपाल हुण्डाईको बिक्री वितरण सुरु भएको छ । नेपालका लागि हुण्डाई मोटर कम्पनीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसन (एलएमसी) बाट नेपालमा नै हुण्डाई भेन्यूको व्यावसायिक उत्पादन गरी बिक्री वितरण सुरु गरेको हो ।
लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुण्डाई कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो । लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा हुन्डाई भेन्यू मोडल उत्पादन गर्ने र यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरू हुन्डाई मोटर कम्पनी कोरिया वा इन्डियामा बन्ने सोही मोडलका गाडिहरु सरह कै हुने कम्पनीले दाबी गरेको छ ।
स्वदेशमा नै उत्पादन गरी देशको औद्योगीकरण, आयात प्रतिस्थापन, रोजगारी सृजना, आन्तरिक राजस्वमा वृद्धि, सीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक श्रोत तथा विद्युतको खपत, कुल गृहस्थ उत्पादनमा योगदानका साथ साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी गराएको छ ।
प्रथम चरणमा हुन्डाई भेन्यूका दुई भेरिएन्ट उत्पादन गर्ने र क्रमशः केही समय भित्र नै थप अरू भेरिएन्टहरुको उत्पादन पनि बढाउँदै जाने कम्पनीको योजना रहेको र यसै आर्थिक वर्षभित्र हुण्डाई ग्राण्ड आई१० एनआईओए का साथै अल न्यू हुण्डाई क्रेटाको उत्पादन पनि सुरु हुने जनाएको छ ।
हाल बिक्री वितरण सुरु भएको हुण्डाई भेन्यूको मूल्य ४४ लाख ९६ हजार र ५३ लाख ५६ हजार निर्धारण गरिएको छ ।
Facebook Comment
Comment