काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले आफूहरूसँग प्रतिस्पर्धा गर्न नसक्ने दाबी गरेका छन् ।
बिहीबार एमाले भक्तपुरको नवनिर्वाचित कमिटीको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्न पुगेका उनले यस्तो बताएका हुन् ।
“देश बनाउने कुरामा कांग्रेसले हामीसँग प्रतिस्पर्धा गर्नै सक्दैन । खेलौना रेल देखाएको होइन कांग्रेसले ? अहिले जनकपुर गएर लुकेर रेल चढ्छन् । नेकपा एमालेले गर्छ कुनै काम,” उनले भने ।
अगाडि उनले भने, “कांग्रेसले प्रतिस्पर्धा गर्नै सक्दैनन् । त्यसपछि भ्रष्टाचारको हल्ला चलाउँछन्, एउटा पार नलागेपछि अर्को हल्ला चलाउँछन् । झुट बोल्न सक्ने हुन्, काम गर्न सक्नै हैसियत छैन । यिनीहरूसँग हात छ कि छैन थाहा छैन, थुथुनो मात्रै चलाउँछन् । कोही कांग्रेस देखियो भने खै हेरौँ, हात छ कि छैन भन्नुपर्ला ।”
उनले कांग्रेसलाई गाली नगरी झुट नबोल भनेर सम्झाएको बताए । उनले कांग्रेसले मान्छे मारेर चुनाव जित्ने गरेको आरोप लगाए । “पहाडको एउटा जिल्लामा ९९ प्रतिशत भोट खस्यो । जबकि २० प्रतिशतभन्दा बढी जनसङ्ख्या त्यहाँको बाहिरै छन् । त्यो जिल्ला धेरै जागिर खानेको जिल्ला हो । बुथ कब्जा गरेर कांग्रेसले चुनाव जितेको छ । एमालेले यस्तो गर्दैन,” उनले भने ।
उनले देश बनाउनका लागि एमालेले बहुमत ल्याउनुपर्ने बताए ।
Facebook Comment
Comment