जसपाको नजरमा दलहरू : कांग्रेस-एमाले पहिचानविरोधी, माओवादी अवसरवादी

'रास्वपाको विचार नै प्रष्ट छैन'

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो प्रतिवेदनमा डा. सीके राउत नेतृत्वको जनमत पार्टीलाई भने ‘बाइपास’ गरेका छन् । संसद्‌भित्र नभएका दलहरूप्रति समेत धारणा बनाउन भ्याएका उनले जनमतबारे भने केही भनेका छैनन् ।

नेपालभ्युज

जसपाको नजरमा दलहरू : कांग्रेस-एमाले पहिचानविरोधी, माओवादी अवसरवादी

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले अन्य दलप्रतिको संस्थागत धारणा सार्वजनिक गरेको छ ।

सोमबारबाट जनकपुरधाममा जारी पार्टीको पहिलो महाधिवेशनमा अध्यक्ष उपेन्द्र यादवद्वारा प्रेषित राजनीतिक प्रतिवदेनमा नेपाली कांग्रेसदेखि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सम्मका दलप्रतिको संस्थागत धारणा समावेश छ ।

जसपा नेपालले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई ‘पहिचानविरोधी’ भनेको छ । “यो पार्टी उत्पीडित जनताको मुक्ति, पहिचान र अधिकारको विपक्षमा छ,” प्रतिवेदनमा भनिएको छ ।

कांग्रेसको शासनकालमा ठूला-ठूला काण्डहरू भएको तर, विश्वसनीय छानबिन कहिल्यै नभएको प्रतिवेदनमा औँल्याइएको छ । लाउडा, धमिजा, सुडानलगायतका काण्डहरू स्मरण गर्दै प्रतिवेदनमा भनिएको छ, “सुशासनको सवालमा भए/गरेका यो पार्टीको प्रतिबद्धता व्यवहारमा देखिएन ।”

यस्तै प्रतिवेदनमा प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले) लाई ‘पतनको दिशातिर गइरहेको’ पार्टीका रूपमा चित्रण गरिएको छ । एमालेसहितको वर्तमान सरकारका काम/कारबाहीले पनि त्यही सङ्केत गर्ने जसपा नेपालको को धारणा छ ।

“दार्शनिक तथा वैचारिक रूपमा अन्योलग्रस्त र नैतिक रूपमा स्खलित भइसकेको भइसकेको पार्टी सङ्गठनात्मक रूपमा मात्र लामो समय बलियो रहिरहन सक्दैन,” प्रतिवदेनमा भनिएको छ ।

प्रतिवेदनमा नेपालका कम्युनिष्ट पार्टीहरू केही वर्षभित्र उठ्नै नसक्नेगरी ढल्ने टिप्पणीसमेत गरिएको छ ।

यस्तै जसपा नेपालले नेकपा (माओवादी केन्द्र) लाई ‘अवसरवादी’ भनेको छ । यसले सर्वहाराको पार्टी भनेपनि बढी अवसरवादमा नै विश्वास गर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

“चिन्तन र व्यवहारमा मार्क्सवादी-लेनिनवादी माओवादीमा वास्तविकतामा त्यस्तो नभइ ढुलमुले तथा अवसरवादी चरित्र नै हाबी छ,” प्रतिवेदनमा भनिएको छ, “यसका नेता/कार्यकर्ता ठूला-ठूला भ्रष्टाचार, कमिसनतन्त्र र जग्गा दलालीमा मुछिएका छन् ।”

प्रतिवदेनमा माओवादी केन्द्रले आफूलाई प्रगतिशील देखाएपनि सारमा एमालेभन्दा फरक देखाउन नसकेको उल्लेख गरिएको छ ।

यस्तै जसपा नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई ‘पुरातन सम्वर्द्धनवादी’ दल भनेको छ । प्रतिवेदनमा राप्रपाले जनताको धार्मिक भावनाको राजनीतिक दोहन गरेर शक्तिमा फर्किन चाहेको टिप्पणी गरिएको छ ।

“महेन्द्रीय राष्ट्रवादकै पैरवी गर्न राप्रपा धारले बेला-बेलामा कांग्रेस-कम्युनिष्टहरूको असक्षमताको धमिला पानीमा माछा मार्ने प्रयत्न गर्दछ र राजतन्त्र फर्काउने हल्ला पनि गर्छ,” प्रतिवदेनमा भनिएको छ ।

जसपा नेपालले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई देश र जनताको हितमा निर्णय गर्न नसक्ने पार्टीको रूपमा व्याख्या गरेको छ ।

“यो पार्टीसँग हाम्रा केही एजेन्डाहरू मिल्छ । तर, जनता र देशको पक्षमा निर्णय लिन सक्दैन, अर्काको मुख ताक्छ । तर, यो पार्टीसँग सहकार्य गर्न सकिन्छ,” प्रतिवेदनमा भनिएको छ ।

यस्तै प्रतिवेदनमा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), नेकपा (मसाल), नेत्रविक्रम चन्द ‘विप्लव सी’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीहरू शाश्त्रीय साम्यवादको धङधङीबाट बाहिर निस्कन नसकेको टिप्पणी गरिएको छ ।

यसैगरी जसपा नेपालको प्रतिवेदनमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) लगायतका नयाँ दलहरू भने आफैँमा प्रष्ट भइनसकेको दलका रूपमा चित्रण गरिएका छन् ।

केही नयाँ गरौँ भनेर आएको हुनसक्ने अनुमान गर्दै प्रतिवदेनमा भनिएको छ, “यी दलका विचार के हुन्छ ? के-कस्ता एजेन्डा बोक्ने हुन्, त्यो प्रष्ट छैन । केही नयाँ गरौँ भन्ने हुटहुटीका कारण आएका हुनसक्छन् । यिनीहरूलाई धीरताका साथ पर्खने र बुझ्ने गर्नुपर्छ ।”

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो प्रतिवेदनमा डा. सीके राउत नेतृत्वको जनमत पार्टीलाई भने ‘बाइपास’ गरेका छन् । संसद्‌भित्र नभएका दलहरूप्रति समेत धारणा बनाउन भ्याएका उनले जनमतबारे भने केही भनेका छैनन् ।

पछिल्लो संसदीय निर्वाचनमा अध्यक्ष यादवलाई जनमतका अध्यक्ष राउतले सप्तरी २ मा झन्डै दोब्बर मतान्तरले पराजित गरेका थिए । पछि २०८० वैशाख १० को बारा २ को उपनिर्वाचनमा समेत यादवलाई रोक्न चाहन्थे राउत तर, सकेनन् ।

पहिलोपटक मधेसमा गतिलो उपस्थिति जनाएको राउतको जनमतकै नेतृत्वमा मधेस प्रदेश सरकार गठन भएको छ । जहाँ ७८ महिना पूरापुरी जसपा नेपालकै सरकार थियो । अहिले यादव-राउतबीच हार्दिक सम्बन्ध छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved