बाबरको कप्तानी फेरि खोसिँदैछ ?

नेपालभ्युज

बाबरको कप्तानी फेरि खोसिँदैछ ?

काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)का अध्यक्ष मोहसिन नकवीले बाबर आजमको नेतृत्वमा रहेको टोलीमा आमूल परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

आईसीसी टी-२० विश्वकपमा भारतसँगको हारपछि अध्यक्ष नकवीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

न्यूयोर्कमा भएको खेलमा भारतले पाकिस्तानलाई १२० रनको लक्ष्य दिएको थियो तर, टोलीले ७ विकेटको क्षतिमा ११३ रन मात्रै बनाउन सक्यो ।

पाकिस्तानी मिडियाका अनुसार न्युयोर्कमा नकवीले खेलपछि भने, ‘मैले पहिले खेल जित्नका लागि टोलीमा केही परिवर्तन गर्नुपर्छ भन्ने सोचेको थिएँ तर, अहिले टोलीमा आमूल परिवर्तन गर्नुपर्ने देखिन्छ।’

अब केही समय टिम बाहिर रहेका खेलाडीमा ध्यान दिन आवश्यक रहेको नकवीको भनाइ छ । उनले भने, ‘अमेरिका र भारतसँग हामीले जसरी खेल हार्यौँ, त्यो निकै निराशाजनक छ । हामीले अहिले टोलीमा नभएका खेलाडीहरूलाई हेर्नु पर्छ।’

उनले थप भने, ‘सबैले सोधिरहेका छन् कि टोलीले किन राम्रो प्रदर्शन गरिरहेको छैन ? सुपर-८ मा पुग्नका लागि पाकिस्तानले क्यानडा र आयरल्याण्डविरूद्धको अर्को दुई खेल ठूलो अन्तरले जित्नुपर्नेछ र अन्य टोलीको नतिजा पनि अनुकूल होस् भनेर प्रार्थना गर्नुपर्नेछ।’

उनको यो भनाइले आजमलाई फेरि कप्तानबाट हटाउन लागिएको संकेत गरेको छ । यसअघि पनि आजमलाई कप्तानबाट हटाएर फास्ट बलर शाहिन अफ्रिदीलाई टोलीको कमाण्ड दिइएको थियो । तर, गतिलो प्रदर्शन गर्न नसकेपछि पुन: बाबरलाई कप्तान बनाइएको हो ।

‘आजमविरूद्ध खेलाडीहरूको गुनासो छ’

यता, पूर्व कप्तान तथा टी–२० विश्वकपको ब्रान्ड एम्बेसडर शाहिद अफ्रिदीले ठूलो आरोप लगाएका छन् ।

म्याचमा कमेन्टिङ गर्ने क्रममा अफ्रिदीले भने, ‘टिममा कप्तान बाबर आजमविरूद्ध खेलाडीहरूको गुनासो छ । कप्तान भनेको सबैलाई साथमा लिने व्यक्ति हुनुपर्छ, जबकि पाकिस्तानी टोलीमा यस्तो भइरहेको छैन। टिम बर्बाद हुँदैछ ।’

उनले यसअघि भने, ‘शाहिनसँग मेरो सम्बन्ध छ । उसको बारेमा कुरा गरेँ भने म मेरो ज्वाइँको पक्षमा छु भनी भन्छन् । तपाईलाई बताउन दिनुहोस् कि शाहिन अफ्रिदीलाई एकदिवसीय विश्वकप २०२३ पछि टोलीको कप्तान बनाइएको थियो, जबकि बाबर आजमलाई हटाइएको थियो तर, यो टी-२० विश्वकप अघि फेरि कप्तान बनाइएको थियो।’

‘५९ बलमा रन बनाउन नसक्नु टर्निङ प्वाइन्ट’

कप्तान आजमले लक्ष्य पछ्याउने क्रममा ५९ बलमा रन बनाउन नसक्नु टर्निङ प्वाइन्ट साबित भएको बताए ।

खेलपछि बाबरले भने, ‘हामीले राम्रो बलिङ गर्यौं तर, ब्याटिङमा लगातार विकेट गुमायौं । हामीले धेरै बलहरूमा रन बनाउन सकेनौं । हामीले फेरि पनि पहिलो ६ ओभरमा अपेक्षित प्रदर्शन गर्न सकेनौं।’

टोलीको रणनीतिबारे सोध्दा बाबरले भने, ‘हाम्रो रणनीति आरामसँग खेल्ने थियो । हामीले एक वा दुई रन लिने र बिचमा बाउन्ड्री प्रहार गर्ने रणनीति बनाएका थियौं तर, यस बीचमा हामीले धेरै बलहरूमा रन बनाउन सकेनौं र यस्तो अवस्थामा पछिल्लो क्रमका ब्याट्सम्यानबाट हामी धेरै आशा गर्न सक्दैनौं।’

अब टिमको नजर बाँकी दुई खेलमा हुने आजमले बताए ।

दुई खेल हारेको पाकिस्तान कसरी पुग्न सक्छ सुपर-८ मा ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved