धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
मुख्यमन्त्री कार्यालय स्रोतकाअनुसार सोडारीले एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला, माओवादी केन्द्रका ओमबिक्रम भाटलाई सामाजिक विकास मन्त्री र स्वतन्त्र प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त गरेका छन् ।
यस्तै, एमालेका बिरबहादुर थापा, हिरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल, लक्ष्मी विक र एकीकृत समाजवादीकी माया पन्तलाई बिना विभागीय मन्त्रीमा नियुक्तिका लागि प्रदेश प्रमुख नजिर मियाँ समक्ष सिफारिस गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयले समेत मुख्यमन्त्री सोडारीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको नाम सिफारिस गरेको पुष्टि गरेको छ ।
नवनियुक्त मन्त्रीहरूको शपथ साँझ ५ बजे तय गरिएको छ ।
मुख्यमन्त्री सोडारीले मन्त्रालय विभाजन गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका थिए तर, सत्तारूढ दलभित्रै मन्त्रालय विभाजन गर्न नहुने, गरेपनि आवश्यक गृहकार्य गरेर गर्नुपर्ने दबाब बढेपछि उनी रोकिएका हुन् ।
सोडारीले यसअघि नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास र टीका थापालाई आर्थिक मामिला मन्त्री नियुक्त गरेका थिए ।
Facebook Comment
Comment