‘भारत लक्षित’ कटाक्ष गरिरहने पदम गिरी किन समेटिए प्रधानमन्त्रीको टोलीमा ?

नेपालभ्युज

‘भारत लक्षित’ कटाक्ष गरिरहने पदम गिरी किन समेटिए प्रधानमन्त्रीको टोलीमा ?

काठमाडौं । भारततर्फको १६९० किलोमिटर जुन सीमाक्षेत्र छ । देशभक्त नेपालले आफ्नो छाक कटाएर भए पनि दिन तयार छन्, त्यसमा अब पर्खाल लगाउन सरकार अगाडि बढोस् । म पनि सांसद भएकाले मैले पाउने तलब सेवा सुविधा सम्पूर्ण त्यही कार्यका निम्ति दिन तयार छु । (प्रतिनिधि सभा बैठक / २०७७ वैशाख ३०)

राज्यले अर्बौं लगानी गरेर पोखरा र भैरहवा विमानस्थल निर्माण गर्‍यो । त्यसलाई सञ्चालन गर्नका लागि सरकार कुनै पहलकदमी लिँदैन । ऋणको भारी निरन्तर बढेको बढ्यै छ । यसलाई कसरी सञ्चालन गर्ने भनेर स्वतन्त्र ढंगले निर्णय लिन सक्ने ठाउँमा छैन । दक्षिण र उत्तरतिर फर्किएर छिमेकीले के भन्छन्, अरुले के भन्छन् भन्ने आधारमा यस्ता आयोजनालाई अलपत्र राख्न पाइन्छ ? (प्रतिनिधि सभा बैठक, २०८० माघ २४)

(प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा) आजको देशको मुख्य समस्याहरु पञ्चेश्वर परियोजना अघि बढाउने सवालमा, सीमाको विषयमा, भारतीय पूर्वाधारका कारण भएको नेपालमा भएको डुबानको समस्या समाधान गर्ने सवालमा, हाइ अल्टिच्युटको हवाई रुट लिने सवालमा, ईपीजीको प्रतिवेदन बुझ्ने जस्तो विषय, जुन राष्ट्रले अपेक्षा गरेका थिए, यसमा कुनै पनि उपलब्धि भएको छैन । विद्युत व्यापार सम्झौता भएन तर दुईदुई वटा नदी बुझाएर आउने काम भयो । जिम्मा लगाएर आउने काम भयो । (प्रतिनिधि सभा बैठक, २०८० जेठ २२)

उल्लेखित तीन वटै अभिव्यक्ति हुन्, पदम गिरीका । अहिले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहेका गिरीले सांसदको हैसियतमा प्रतिनिधि सभामा बोलेका अभिव्यक्तिहरूमा भारत लक्षित कटाक्षहरू भेटिन्छन् । तर उनै गिरी प्रधानमन्त्रीको यसपटकको भारत भ्रमणको टोलीमा परे ।

टोलीमा प्रधानमन्त्री प्रचण्ड र मन्त्री गिरीका अतिरिक्त प्रधानमन्त्रीकी स्वकीय सचिव गंगा दाहाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल र अधिकारीहरू छन् ।

भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल आइतबार दिउँसो त्यसतर्फ लागेका थिए । उनको टोलीमा रहेका एक मात्र मन्त्री हुन् गिरी । उनी एमाले अध्यक्ष केपी शर्मा ओलीको चाहनामा भारत पठाइएका प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री प्रचण्ड यतिबेला भारतीय प्रधानमन्त्री मोदीसँग सहज र विश्वासपूर्ण सम्बन्धमा छन् । तर भारत लक्षित कटाक्ष गरिरहने मन्त्रीलाई सँगै पठाइदिएर त्यसमा ह्रास आओस् भन्ने अपेक्षा राखिएको हुनसक्ने माओवादी केन्द्रका एक नेताले आकंलन गरे ।

‘आफ्नाप्रति पटकपटक कटाक्ष गरिरहने मन्त्रीलाई नै बोकेर आउने प्रधानमन्त्रीसँग भारतीय पक्ष खुसी हुने कुरा त हुँदैन नि । उसले पनि त भ्रमण टोलीका सदस्यहरूको विश्लेषण गर्ला’, उनले भने ।

एमालेका एक जना केन्द्रीय सदस्यले आफ्नो टोलीमा कसलाई समावेश गर्ने भन्ने प्रधानमन्त्रीको अधिकारको विषय भएको बताए ।

उनले गिरीको अभिव्यक्तिको पनि बचाउ गरे । ‘सन्दर्भहरूमा बोलेको कुरालाई पछि अर्कै सन्दर्भमा हेर्दा फरक अर्थ लाग्न सक्छ’, उनले भने, ‘तर मन्त्रीज्यूले संसद्‌मा दिनुभएको अभिव्यक्तिहरू भारतलाई कटाक्ष गर्ने नियत राखेर दिनुभएको होइन भन्ने लाग्छ । त्यसलाई त्यसरी बुझ्नु पनि हुँदैन । त्यो नेपालको हितमा दिएको, नेपालको स्वार्थमा दिएको अभिव्यक्ति हो ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved